‘मिस नेपाल २०२६’का लागि २४ सुन्दरी फाइनलमा, सुरु भयो ताजको प्रतिस्पर्धा
काठमाडौं । नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२६’का लागि २४ जना प्रतियोगी अन्तिम चरणमा प्रवेश गरेका छन्। आयोजक संस्था द हिडन ट्रेजरले विशेष कार्यक्रममार्फत फाइनलिस्ट सार्वजनिक गर्दै ‘स्यास सेरेमोनी’ सम्पन्न गरेको हो।
प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतियोगीहरू अब विभिन्न तालिम, व्यक्तित्व विकास कार्यक्रम तथा सामाजिक गतिविधिमा सहभागी हुनेछन्। आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार फाइनलिस्टहरूलाई नेतृत्व क्षमता, आत्मविश्वास, सार्वजनिक प्रस्तुति र सामाजिक उत्तरदायित्वसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिनेछ।
यस वर्षको फाइनल चरणमा इशा सुवेदी, प्रनिशा खनाल, युक्ता पौडेल, अंशु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, काशिश सुब्बा, मानश्वी शर्मा, सुष्मा भण्डारी, प्रतीक्षा आचार्य, आर्या निशान्त, आयुष्मा केसी, शितांशु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगाडे, महिमा पन्त, दीपमाला ढकाल, सेजा श्रेष्ठ र रचना भट्टराईसहित २४ प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
आयोजकले यस वर्षको प्रतियोगिताको मुख्य नारा ‘टप अफ द वर्ल्ड’ तय गरेको छ। उक्त नाराले नेपाली महिलाको क्षमता, आत्मविश्वास र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने लक्ष्यलाई झल्काउने विश्वास गरिएको छ।
यद्यपि प्रतियोगिताको ग्रान्ड फिनाले कहिले आयोजना हुने भन्ने मिति भने आयोजकले हालसम्म सार्वजनिक गरेको छैन। फाइनल मिति घोषणा हुन बाँकी रहे पनि प्रतियोगिताले सौन्दर्य क्षेत्र र युवा पुस्तामाझ अहिले नै उत्साह सिर्जना गर्न थालेको छ।
वर्षौंदेखि नेपाली महिलाको प्रतिभा, नेतृत्व र व्यक्तित्व विकासको मञ्चका रूपमा स्थापित ‘मिस नेपाल’ले यस वर्ष पनि नयाँ अनुहारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर दिलाउने अपेक्षा गरिएको छ।


Tulac








