ह्वाइट बिकिनी'मा सृष्टिको बोल्ड अवतार, समुन्द्री छालसँगै अशोकसँग यस्तो रोमान्स

ह्वाइट बिकिनी'मा सृष्टिको बोल्ड अवतार, समुन्द्री छालसँगै अशोकसँग यस्तो रोमान्स

इटहरी/ यही जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कुम्भ’को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । आर.ए.ए. डिजिटल नेपालको आधिकारिक च्यानलमार्फत रिलिज गरिएको यस गीतले फिल्मको सांगीतिक र ग्ल्यामरस पक्षलाई सशक्त रूपमा बाहिर ल्याएको छ । पप-आधुनिक फ्लेभरको यस गीतको भिडियोमा मुख्य कलाकारद्वय अशोक आर्यान र सृष्टि खड्का बीचको प्रेमिल केमेष्ट्री हेर्न लायक छ ।

 विशेषगरी समुन्द्री छालहरूसँगै खिचिएका दृश्यहरूमा अभिनेत्री सृष्टिलाई ‘ह्वाइट बिकिनी’मा निकै बोल्ड र आकर्षक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा अशोक र सृष्टिका रोमान्टिक किस्साहरूलाई कलात्मक शैलीमा देखाइएको छ, जहाँ प्रेमिकाको रूपको तारिफ र प्रेमको गहिरो वर्णन गरिएको छ । ए रास प्रोडक्सनको प्रस्तुति रहेको यस गीतमा मनिष शाहीको स्वर र डिजे ए.एन. को संगीत रहेको छ । गीतका शब्दहरू स्वयम् फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठले लेखेका हुन् ।

 सोनु जीले यसलाई री-कम्पोज तथा मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मल्टिम्याट स्टुडियोमा यसको अडियो रेकर्डिङ भएको हो । फिल्म ‘कुम्भ’लाई विशेष बनाउन निर्देशक रणधीर श्रेष्ठले लेखन, निर्देशन, छायांकन र सम्पादनको चौतर्फी जिम्मेवारी आफैँ सम्हालेका छन् । यो फिल्ममा अशोक आर्यान र सृष्टि खड्काका साथमा स्व. अभिनेता सुनील थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह बडैला, सुरेन्द्र ठाकुर, अफसाना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ, विजय यादव, महेन्द्र मैनाली, आनन्द चतुर्वेदी, संजय बैठा, भोला शाह, भाले डन र बसन्त भट्टराईको अभिनय रहेको छ ।

रोबर्ट बडैलाको कोरियोग्राफी रहेको भिडियोमा सम्राट बस्नेत र भारतबाट प्रदिप खड्का, संजय थापा र कुमार महर्जनको संयुक्त द्वन्द्व निर्देशन रहेको छ । दिनेश विष्ट (कृति एफएक्स) को भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ, शैलेन्द्र बाबु प्रधानको ब्याकग्राउण्ड स्कोर र सागर अर्यालको साउन्ड डिजाइन तथा फिल्म मिक्सिङ रहेको छ । दक्षिण भारत तर्फको व्यवस्थापन शबरीश कब्बिनाले र नेपालतर्फ आकाश बज्राचार्यले हेरेका छन् । ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता रहेको यस फिल्मलाई रणधीर श्रेष्ठ र राजेश शाहले निर्माण गरेका हुन् । सुनिल मानन्धर र श्री राम बालाजी फिल्मस्‌को वितरणमा आउन लागेको यो फिल्मले हलमा एक्सन, रोमान्स र उत्कृष्ट ड्रामाको सम्मिश्रण पस्कने पक्का छ ।