६० वर्षपछि जीवनको नयाँ अध्याय सुरु गर्दै आमिर खान, प्रेमिका गौरी स्प्राटसँग तेस्रो विवाह गर्ने घोषणा
मुम्बई । बलिउडका चर्चित अभिनेता आमिर खानले आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको ठूलो निर्णय सार्वजनिक गरेका छन्। उनले प्रेमिका गौरी स्प्राटसँग तेस्रो विवाह गर्ने घोषणा गर्दै जीवनको नयाँ अध्याय सुरु गर्न लागेको पुष्टि गरेका हुन्।
आइतबार मुम्बईमा आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आमिरले आफू र गौरी चाँडै विवाह बन्धनमा बाँधिन लागेको जानकारी दिए। उनले विवाहलाई अत्यन्त निजी र पारिवारिक बनाइने बताउँदै समारोह आफ्नै निवासमा आयोजना हुने र त्यसमा दुवै परिवारका सदस्य तथा केही नजिकका साथीहरू मात्र सहभागी हुने जानकारी दिए। यस अवसरमा उनले सबै शुभेच्छुकसँग आशीर्वाद र शुभकामनासमेत मागेका थिए। कार्यक्रममा उनका छोरा जुनैद खान पनि उपस्थित थिए।
आमिरको वैवाहिक जीवन यसअघि दुईपटक चर्चामा रहिसकेको छ। उनले पहिलो विवाह सन् १९८६ मा चलचित्र निर्माता रीना दत्तासँग गरेका थिए। लामो वैवाहिक जीवनपछि सन् २००२ मा उनीहरू अलग भएका थिए। त्यसपछि आमिरले सन् २००५ मा फिल्म निर्देशक किरण रावसँग दोस्रो विवाह गरे। यो सम्बन्ध पनि सन् २०२१ मा सम्बन्धविच्छेदमा टुंगिएको थियो। यद्यपि, आमिरले दुवै पूर्वपत्नीहरूसँग अहिले पनि सम्मानजनक र मित्रवत सम्बन्ध रहेको बताउँदै आएका छन्।
आमिरले २०२५ मा आफ्नो ६०औँ जन्मदिनको अवसर पारेर पहिलोपटक गौरी स्प्राटसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। गौरी बेंगलुरुकी सफल सैलुन उद्यमी तथा फेसन व्यवसायी हुन्। उनका पिता तमिल–ब्रिटिश मूलका हुन् भने आमा पञ्जाबी–आइरिश मूलकी हुन्। उनी भारतको स्वतन्त्रता आन्दोलनसँग जोडिएका ब्रिटिश कम्युनिस्ट फिलिप स्प्राटकी नातिनी पनि हुन्।
गौरीको पनि यसअघि विवाह भइसकेको थियो। उनका एक सात वर्षीय सन्तान छन् र पछिल्ला दुई वर्षदेखि उनी आफ्नो सन्तानसहित मुम्बईमा बस्दै आएकी छन्। यही अवधिमा आमिर र गौरीको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताइन्छ।
रोचक कुरा के छ भने, आमिर र गौरी एकअर्कालाई करिब २५ वर्षदेखि चिन्दै आएका छन्। सुरुआती दिनमा उनीहरू घनिष्ठ साथी थिए। समयसँगै मित्रता प्रेममा परिणत भयो र दुवैले सम्बन्धलाई अगाडि बढाउने निर्णय गरेका हुन्। सम्बन्ध सार्वजनिक गरेयता गौरी आमिरसँग विभिन्न सार्वजनिक कार्यक्रम, फिल्म प्रिमियर र पारिवारिक समारोहहरूमा पनि सँगै देखिँदै आएकी छन्।
मे २०२६ मा दिएको एक अन्तर्वार्तामा आमिरले गौरीप्रति आफ्नो भावना व्यक्त गर्दै भनेका थिए, “म आफूलाई धेरै भाग्यमानी ठान्छु कि मेरो जीवनमा गौरी आइन्। उनीसँग हुँदा मलाई असाध्यै शान्ति मिल्छ। रीना दत्ता र किरण रावसँग पनि मेरो सम्बन्ध निकै गहिरो थियो, तर ती सम्बन्ध अघि बढ्न सकेनन्। गौरी मेरो जीवनमा आउनु मेरा लागि सौभाग्य हो। अब आएर मात्र म आफूलाई पूर्ण भएको महसुस गर्छु।”
लामो समयसम्म व्यक्तिगत जीवनबारे संयमित रहने आमिरले पहिलोपटक खुला रूपमा तेस्रो विवाहको घोषणा गरेपछि बलिउडमा यसको व्यापक चर्चा भइरहेको छ। अब सबैको ध्यान उनी र गौरीको निजी विवाह समारोहतर्फ केन्द्रित भएको छ।


Tulac








