‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक ,साउन २९ देखि प्रदर्शनमा आउने
आगामी साउन २९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ। कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाललाई प्रस्तुत गरिएको छ।
डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतले आकर्षक दृश्य र ऊर्जावान प्रस्तुति मार्फत दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। आहा फिल्मस्को ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको सिनेमाको निर्देशन राजबहादुर सानेले गरेका हुन्। सौरभ ओली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका हुन् भने दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।
दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमाका हरि प्रसाद सिवाकोटी लाइन प्रोड्युसर हुन्। क्यानडामा बसोबास गर्ने उनी नेपालमै प्रदर्शन हुने मितिमा ‘लज्जावती’लाई क्यानडामा पनि प्रदर्शन गर्ने तयारीमा जुटेका छन्। सिनेमामा धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, बिशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा र काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ। तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशव्यापी रूपमा वितरण गर्नेछ।


admin@cinekura.com 







