मास्टर्नी’को प्रचारमा दुर्गेश थापाको विशेष उपहार, प्रमोसनल गीत सार्वजनिक

मास्टर्नी’को प्रचारमा दुर्गेश थापाको विशेष उपहार, प्रमोसनल गीत सार्वजनिक
मास्टर्नी’को प्रचारमा दुर्गेश थापाको विशेष उपहार, प्रमोसनल गीत सार्वजनिक

काठमाडौं । प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र **‘मास्टर्नी’**को चर्चा चुलिन थालेको छ। आगामी भदौ ५ गते देशभर प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारलाई थप प्रभावकारी बनाउन निर्माण टिमले नयाँ प्रमोसनल गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको विशेषता भनेको यसलाई चर्चित गायक दुर्गेश थापाले अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीलाई फिल्मको प्रचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विशेष उपहारका रूपमा दिएका हुन्।

डान्सिङ बिटमा तयार पारिएको गीतमा दुर्गेश थापाकै शब्द, संगीत र मुख्य स्वर रहेको छ। गायनमा उनलाई बबिना किरातीले साथ दिएकी छन्। गीतको भिडियोमा प्रियंका कार्कीसँग दुर्गेश थापा र आयुष्मान देशराज जोशीले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। भिडियोको अन्तिममा अभिनेता आर्यन सिग्देलको सरप्राइज उपस्थितिले दर्शकको उत्सुकता थप बढाएको छ।

प्रदिप लामाको कन्सेप्ट, निर्देशन तथा कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियो ग्ल्यामरस र स्टार–स्टडेड बनेको छ। भिडियोको छायांकन, सम्पादन र कलर पवन सुस्लिङले गरेका हुन्।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मास्टर्नी’मा प्रियंका कार्की र आर्यन सिग्देलसँगै सरोज खनाल, गौरी मल्ल, अनुप विक्रम शाही, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का र दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान थापाले तयार पारेका छन्। निर्माणमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ।

निर्माण टिमका अनुसार सार्वजनिक गरिएको प्रमोसनल गीतले फिल्मप्रति दर्शकमाझ थप उत्साह र आकर्षण सिर्जना गर्ने विश्वास गरिएको छ।