सुपर सुरेशले विश्वकप फुटबलको रौनकमा सार्वजनिक गरे 'गोल गोल' बोल गीतको भिडियो
इटहरी/ यतिबेला विश्वभर विश्वकप फुटबलको रौनक छाएको छ । यही मेसोमा सुपर सुरेश उपनामले परिचित गायक सुरेश कार्कीले आफ्नो नयाँ म्युजिक भिडियो 'गोल गोल' सार्वजनिक गरेका छन् । यसअघि ‘रेश्मा’ बोलको गीतबाट दर्शक तथा स्रोताको मन जितेर सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति देखाएका सुरेशको यो दोस्रो सांगीतिक कोसेली हो । विश्वकप शुभारम्भको विशेष दिन पारेर आज जेठ २८ गते युट्युबमार्फत यस भिडियोलाई विश्वव्यापी रिलिज गरिएको हो । दर्शकले 'रेश्मा' पछि सुरेशको नयाँ गीत सुन्न पाएका थिएनन् । तर, यो गीत तयार पार्ने यात्रा भने सुरेशका लागि निकै चुनौतीपूर्ण रह्यो ।
गीत निर्माणका क्रममा आफ्नो टिमका सदस्यको परिवार हप्तौंसम्म गम्भीर स्वास्थ्य समस्यासँग जुध्नुपरेको गायक सुरेशले बताए । 'शारीरिक अस्वस्थताको उक्त समस्याको बाबजुद तथा विभिन्न प्राविधिक कारणहरूले गर्दा पनि गीतको भिडियो निर्माण गरेको' उनले बताए । सुरेशले यो गीतलाई अन्तिम रूप दिन १६ महिनाको लामो समय लागेको बताए । उनले भने, 'निकै दुःख र संघर्षका बाबजुद उच्च अपेक्षाका साथ यो सिर्जनालाई दर्शकमाझ ल्याएको छु ।' युट्युबमा सार्वजनिक हुनु एक दिन अगाडि अर्थात् हिजो जेठ २७ गते चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको आयोजनामा एक विशेष कार्यक्रमका बीच यस गीतको औपचारिक रिलिज तथा प्रिमियर गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा कलाकर्मीहरूबाट भिडियोले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । अडियो र भिडियो दुवै पक्षलाई उत्कृष्ट बनाउन यस प्रोजेक्टमा अनुभवी युवा सर्जकहरूको बलियो टिम रहेको छ ।
यो गीतमा शब्द, संगीत र गायन सुपर सुरेशको रहेको छ भने अडियो निर्माण, निर्देशन तथा सम्पादनमा अशेष लुइटेल रहेका छन् । यस्तै प्रोडक्सन ब्यानर लुइटेल ब्रोज र फोटो क्लिकर्स रहेको छ । भिडियोको छायांकन पवन सिग्देल तथा मुख्य सहायक निर्देशक तथा मोसन/पोस्टर डिजाइन हिमेश तिमल्सिना रहेका छन् । म्युजिक भिडियोलाई उत्कृष्ठ रुप दिनको लागी कलर, सहायक सम्पादन तथा डीआईटीमा जेसिस भट्टराई रहेका थिए भने प्रोडक्सन म्यानेजर रत्न बहादुर कार्की र सहायक प्रोडक्सन म्यानेजर रबिन दाहाल हुन् । स्वास्थ्य चुनौतीलाई जितेर तयार पारिएको यो सांगीतिक कोसेलीले विश्वकपको माहोलमा दर्शकहरूलाई भरपुर मनोरञ्जन दिने र ‘रेश्मा’ गीतको जस्तै अपार सफलता प्राप्त गर्ने निर्माण पक्षको विश्वास रहेको छ ।


admin@cinekura.com 







