'लालिमा' ट्रेलर: तीन हजार यौनकर्मीको पीडा र सङ्घर्षको ऐना
हजारौं यौनकर्मी महिलाहरूको वास्तविक अनुभव र भोगाइमा आधारित चलचित्र 'लालिमा' को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। झन्डै तीन मिनेट लामो यो भिडियोले एक युवतीको पारिवारिक बाध्यता र यौनकर्मको अँध्यारो संसारमा भोग्नुपरेको मर्मस्पर्शी कथालाई उजागर गरेको छ।
अभिनेत्री रोशनी कार्कीलाई मुख्य भूमिकामा देखाइएको ट्रेलरमा उनको जीवनको उतारचढावलाई निकै प्रभावशाली ढङ्गले चित्रण गरिएको छ। विशेषगरी, आमालाई कारागारबाट मुक्त गराउने प्रयासमा शहरको कठोर र क्रूर दलदलमा फसेकी 'लालिमा' को शारीरिक तथा मानसिक पीडालाई निर्देशक रोशन मिराजले प्रतीकात्मक दृश्यमार्फत प्रस्तुत गरेका छन्।
फिलिममा कलाकार: रोशनी कार्की, शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, सबिन कट्टेल र घनश्याम जोशी रहेका छन् भने चलचित्रको निर्माण: फेथ आस्था र एम्पिफाई चेन्ज (कार्यकारी निर्माता: रीना लामा) को रहेको छ ।
निर्देशक मिराजका अनुसार, यो फिल्म केवल एउटा कथा मात्र नभई समाजको एउटा यथार्थ पाटो हो। प्लास्टिकभित्र छटपटाइरहेको दृश्यदेखि सुरु भएको ट्रेलरले दर्शकलाई फिल्मको गम्भीरता र केन्द्रीय द्वन्द्व बुझ्न मद्दत गर्दछ।साथै फागुन २९ गते फिलिमको प्रदसनी मिति तय गरिएको छ ।







