इटहरीमा चिजन्स प्यालेस स्कुलको ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

इटहरीमा चिजन्स प्यालेस स्कुलको ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


इटहरी उपमहानगरपालिका–९ स्थित चिजन्स प्यालेस स्कुल ले आफ्नो ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।


इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख सङ्गिता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा, इटहरी उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख रमेश कुमार शाह, विभिन्न क्षेत्रका व्यक्तित्वहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन, सांस्कृतिक झाँकी तथा नाटक प्रस्तुत गरी उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख सङ्गिता चौधरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

त्यस्तै, इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले गरेको प्रयास प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

शिक्षा शाखा प्रमुख रमेश कुमार शाहले विद्यालयहरूले विद्यार्थीलाई पुस्तकमा सीमित नगरी व्यवहारिक ज्ञान, सीप र नैतिक शिक्षामा पनि जोड दिनुपर्ने बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास बढाउने र सिर्जनशीलता विकास गर्ने विश्वास व्यक्त गरे।

विद्यालयका निर्देशक हरि आचार्यले विद्यालयले शिक्षा, संस्कार र जीवन उपयोगी सीप विकासलाई केन्द्रमा राखेर विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताए। उनले आगामी दिनमा अझ प्रभावकारी ढंगले शैक्षिक गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिताले वातावरण थप उत्सवमय बनेको थियो।

इटहरी–८ स्थित कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलको व्यवस्थापन टोलीद्वारा सञ्चालित उक्त विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षा मात्र नभई संस्कार, सृजनशीलता, आत्मविश्वास र व्यवहारिक जीवन सीप विकासमा पनि विशेष जोड दिँदै आएको जनाएको छ।