दसैँमा एक्सन–थ्रिलरको चुनौती, ‘हन्टर’ असोज ९ मा प्रदर्शन हुने

दसैँमा एक्सन–थ्रिलरको चुनौती, ‘हन्टर’ असोज ९ मा प्रदर्शन हुने
दसैँमा एक्सन–थ्रिलरको चुनौती, ‘हन्टर’ असोज ९ मा प्रदर्शन हुने

दसैँलाई लक्षित गर्दै नेपाली फिल्म बजारमा अर्को नयाँ एक्सन–थ्रिलर फिल्म ‘हन्टर’ प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले फिल्मको रिलिज मिति घोषणा गर्दै ‘फेस–अफ’ शैलीको आकर्षक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरसँगै फिल्म आगामी असोज ९ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने निश्चित गरिएको हो।

सार्वजनिक पोस्टरले फिल्मको मूल कथा प्रेम, प्रतिशोध र हिंसात्मक द्वन्द्वको वरिपरि घुम्ने संकेत गरेको छ। ट्राइडेन्ट कन्सेप्टले डिजाइन गरेको पोस्टरलाई दुई फरक भावमा प्रस्तुत गरिएको छ, जसले फिल्मभित्रको प्रेम र संघर्षलाई एकसाथ चित्रण गरेको देखिन्छ।

पोस्टरको माथिल्लो भागमा अभिनेता अरुण क्षेत्री र प्रकाश शाह आमनेसामने उभिएका छन्। उनीहरूको अनुहारमा देखिएको आक्रोश, चुनौती र प्रतिशोधको भावले फिल्म सामान्य एक्सन कथाभन्दा धेरै गहिरो मनोवैज्ञानिक द्वन्द्वमा आधारित रहेको आभास गराउँछ। पोस्टरले ‘हन्टर’ र ‘सिकार’बीचको घातक भिडन्तलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।

यता पोस्टरको तल्लो भागमा भने अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मा रोमान्टिक मुद्रामा देखिएका छन्। माथिल्लो भागको तनावपूर्ण दृश्यको विपरीत शान्त र भावनात्मक प्रस्तुतीकरणले फिल्ममा प्रेमकथाले पनि उत्तिकै महत्त्वपूर्ण स्थान ओगटेको संकेत गर्छ। निर्माण पक्षले पोस्टरमार्फत प्रेम नै कथाको मुख्य मोड र द्वन्द्वको कारण बन्ने सन्देश दिन खोजेको देखिन्छ।

फिल्ममार्फत जीवन सिंह ले निर्देशकका रूपमा नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछन्। उनले फिल्मको कथा लेखन र सम्पादनको जिम्मेवारी पनि आफैं सम्हालेका छन्। निर्देशक सिंहका अनुसार ‘हन्टर’ काल्पनिक कथाभन्दा फरक, समाजमा घटेका वास्तविक पात्र र घटनाबाट प्रेरित कथा हो, जसले दर्शकलाई सहज रूपमा आफ्नोपनको अनुभूति गराउने विश्वास गरिएको छ।

फिल्ममा अरुण क्षेत्री, प्रकाश शाह र सुप्रज्ञा शर्माको मुख्य भूमिका रहेको छ। उनीहरूसँगै गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्मा तथा लालबहादुर थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।

प्राविधिक पक्षमा फिल्मको छायांकन कृष्ण थापा ले गरेका छन् भने द्वन्द्व निर्देशन शुक्रराज शाह ले सम्हालेका छन्। विक्रम स्वाँर र सञ्जय खिमजिम को कोरियोग्राफी रहेको फिल्ममा बाबुल गिरी, चक्र बम र महेश ताम्राकार को संगीत सुन्न पाइनेछ।

ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण भएको फिल्ममा ममता सिंह, गोविन्द राज र राज ए. भट्ट को लगानी रहेको छ। मनिष चन्द, युना शाही र सन्तोष आस्ना पाल सह–निर्माता रहेका छन् भने रोयल भीमसेन (भीमसेन शाही) कार्यकारी निर्माताको भूमिकामा छन्। फिल्मको देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्स ले लिएको छ।

दसैँको व्यावसायिक सिजनलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको ‘हन्टर’ले सार्वजनिक पोस्टरमार्फत एक्सन, प्रेम र प्रतिशोधको मिश्रण प्रस्तुत गर्ने संकेत दिएको छ। अब फिल्मले पोस्टरले सिर्जना गरेको अपेक्षालाई ठूलो पर्दामा कत्तिको न्याय गर्छ भन्ने प्रतीक्षा दर्शकमाझ बढेको छ।