भदौ १९ मा आउँदै ‘बा : एक योद्धा’, अनिल बुढाथोकीको दोस्रो फिल्मबाट ठूलो अपेक्षा

भदौ १९ मा आउँदै ‘बा : एक योद्धा’, अनिल बुढाथोकीको दोस्रो फिल्मबाट ठूलो अपेक्षा
भदौ १९ मा आउँदै ‘बा : एक योद्धा’, अनिल बुढाथोकीको दोस्रो फिल्मबाट ठूलो अपेक्षा

काठमाडौं । नेपाली समाजमा सन्तानको उज्ज्वल भविष्यका लागि एक बुवाले जीवनभर गर्ने त्याग, संघर्ष र जिम्मेवारीको भावनात्मक कथा प्रस्तुत गर्ने फिल्म ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज हुन लागेको फिल्मले बुवा र सन्तानबीचको आत्मीय सम्बन्धलाई मार्मिक ढंगले पर्दामा उतार्ने निर्माण पक्षले जनाएको छ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले कलाकारहरूको लाइनअप क्रमशः सार्वजनिक गरिरहेको छ। यसैक्रममा **‘कर्मा’**बाट अभिनय यात्रा सुरु गरेका अभिनेता अनिल बुढाथोकी फिल्मका मुख्य कलाकारमध्ये एक रहने जानकारी दिइएको छ।

‘कर्मा’मा अभिनेता विपिन कार्कीपछि दोस्रो मुख्य भूमिकामा देखिएका अनिलका लागि ‘बा : एक योद्धा’ दोस्रो फिल्म हो। पहिलो फिल्मले बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न नसके पनि यसपटक दर्शकले आफ्नो अभिनयलाई अझ नजिकबाट महसुस गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

आफ्नो भूमिकाबारे अनिल भन्छन्, “पहिलो फिल्मबाट दर्शकले दिएको मायालाई यो फिल्ममा पनि निरन्तरता मिल्ने अपेक्षा गरेको छु। पहिलो अनुभवबाट सिकेका कुरा यसपटक अभिनयमा झन् राम्रोसँग उतार्ने प्रयास गरेको छु।”

फिल्ममा अनिलसँगै दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको पनि महत्वपूर्ण अभिनय रहेको छ।

नेपाली सुगम संगीतका चर्चित संगीतकार, गायक तथा रचनाकार हरि लम्सालले यसै फिल्ममार्फत फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको कथा तथा पटकथा पनि उनले स्वयं लेखेका छन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता वसन्त लम्साल हुन्। यसअघि उनले ‘कर्मा’ निर्माण गरिसकेका छन्। फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मेवारी तारानाथ न्यौपानेले सम्हालेका छन्।

देशभर फिल्मको वितरण कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ। बुवाको संघर्ष, त्याग र सन्तानप्रतिको अथाह प्रेमलाई केन्द्रमा राखेर निर्माण गरिएको **‘बा : एक योद्धा’**ले पारिवारिक दर्शकमाझ विशेष छाप छोड्नेमा निर्माण टिम विश्वस्त देखिएको छ।