काठमाडौं । नयाँ वर्ष २०८३ सुरु भएसँगै नेपाली फिल्म उद्योगमा निर्माण गतिविधि केही सुस्त देखिएको छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार वैशाख र जेठ महिनामा जम्मा २७ वटा फिल्मले मात्र निर्माण इजाजत लिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा कम हो।
बोर्डका अनुसार वैशाखमा १६ र जेठमा ११ फिल्मले निर्माण अनुमति लिएका छन्। वैशाखमा बिचौलिया, मलाया क्रमु, एक मुठ्ठी बादल, तीन तिघ्रे क्या बिग्रे, च्योना, हितको माया, तिमी मेरो म तिम्रो, होल टाइमर्स २, फलानो ढिस्कानो, आशा, उग्रम, मेरो प्रेम अधुरो, ढुकढुकी, एक एकान दुई र खण्डहर र देवकलीले इजाजत लिएका थिए।
त्यसैगरी जेठमा युग, परदेश, पञ्चमी, गजागु संस्कार, ४ जीपीए, स्वामी, कन्या केटो, ल्याङ्ग ल्याङ्ग, तिरी मिरी झ्याईं, घर हिँडेको मान्छे र सुनको बिहानीले निर्माण अनुमति प्राप्त गरेका छन्।
यता असार लागेयता पूर्ण हिँड्यो अस्ट्रेलिया, विष हरण, झ्यालखाना, अनुराधा, प्रिन्स र भेडीगोठले पनि निर्माण इजाजत लिएका छन्। **‘प्रिन्स’**को निर्देशन वरिष्ठ कलाकार नीर शाहले गर्ने जनाइएको छ।
निर्माण इजाजत लिनु मात्रै फिल्म निर्माणको सुनिश्चितता भने होइन। नेपाली फिल्म उद्योगमा शीर्षक सुरक्षित राख्नका लागि मात्रै पनि इजाजत लिने चलन रहँदै आएको छ। त्यसैले अनुमति पाएका सबै फिल्म निर्माण हुने निश्चित हुँदैन।
इजाजत पाएका फिल्ममध्ये ‘एक मुठ्ठी बादल’ प्रदर्शन भइसकेको छ भने ‘होल टाइमर्स २’ छायांकनको अन्तिम चरणमा पुगेको छ। ‘तीन तिघ्रे क्या बिग्रे’ छायांकनमा जाने तयारीमा रहे पनि त्यसको मिति भने अझै तय भएको छैन।
फिल्म निर्माण इजाजतको संख्या घट्नुका पछाडि कलाकारहरूको बढ्दो पारिश्रमिकलाई पनि एक प्रमुख कारणका रूपमा हेरिएको छ। महँगो पारिश्रमिकका कारण निर्माण लागत बढ्ने, बजारमा रहेको आर्थिक मन्दी र बक्स अफिसको अनिश्चितताबीच ठूलो लगानी जोखिमपूर्ण हुने भएकाले धेरै निर्माता नयाँ परियोजनामा अघि बढ्न हिच्किचाइरहेको बताइन्छ।