इटहरीमा प्रथम जुनियर इटहरी नगरस्तरीय (आई.टि.एफ.) तेक्वान्दो प्रतियोगिता हुने

इटहरीमा प्रथम जुनियर इटहरी नगरस्तरीय (आई.टि.एफ.) तेक्वान्दो प्रतियोगिता हुने

इटहरी, जेठ ७ — सुनसरी (आई.टि.एफ.) तेक्वान्दो संघको आयोजनामा “प्रथम जुनियर इटहरी नगरस्तरीय (आई.टि.एफ.) तेक्वान्दो प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ ९ गते शनिबार इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। खेलकुदमार्फत स्वास्थ्य तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको संघले जानकारी दिएको छ। प्रतियोगितामा सुनसरी भरिका विभिन्न डोजाङ्गबाट जुनियर खेलाडीहरूको सहभागिता रहने छ। कार्यक्रमको सह–आयोजकमा द शान्तिनगर युथ क्लब रहेको छ भने प्रायोजकका रूपमा विभिन्न शैक्षिक संस्थाहरू र क्लबहरुको सहयोग रहेकोछ। प्रतियोगितालाई इटहरी उपमहानगरपालिका वडा नं. २ ले समन्वय गरेको जनाएको छ। प्रतियोगितामार्फत युवा खेलाडीहरूमा अनुशासन, आत्मविश्वास तथा खेलप्रतिको आकर्षण वृद्धि हुने विश्वास आयोजकले लिएको छ। साथै, स्थानीय तहमा आई.टि.एफ. तेक्वान्दो खेलको विकास र प्रतिभावान खेलाडी पहिचान गर्न कार्यक्रम महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।