प्रदर्शनअघि मोफसल दौडमा ‘कुम्भ’, राजविराजमा भव्य प्रचार कार्यक्रम
सुनसरी । आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली एक्सन फिल्म ‘कुम्भ’ले मोफसल केन्द्रित प्रचार अभियानलाई तीव्र बनाएको छ । राजधानीभन्दा बाहिर दर्शकमाझ प्रत्यक्ष पहुँच बढाउने रणनीतिसहित फिल्म निर्माण टिम अहिले विभिन्न जिल्लामा प्रचारप्रसार कार्यक्रममा व्यस्त देखिएको छ ।
यसैक्रममा सोमबार सप्तरीको राजविराजमा फिल्मको विशेष प्रचारात्मक कार्यक्रम सम्पन्न गरिएको छ । सप्तरी कलाकार संघ नेपाल, मधेश प्रदेशको आयोजनामा आरबी होटल ग्रीन गार्डेनको सभाहलमा आयोजित कार्यक्रममा कलाकार, निर्माण टिम, स्थानीय अतिथि तथा फिल्मप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपाली फिल्मप्रति दर्शकको आकर्षण निरन्तर बढ्दै गएको उल्लेख गर्दै ‘कुम्भ’ सफल प्रदर्शनको शुभकामना व्यक्त गरेका थिए । उनीहरूले नेपाली कथावस्तु र मौलिक प्रस्तुतिलाई दर्शकले साथ दिनुपर्नेमा जोड दिएका थिए ।
फिल्म निर्माण टिमले भने ‘कुम्भ’को कथा, एक्सन प्रस्तुति र निर्माण यात्राबारे जानकारी गराउँदै दर्शकलाई हलसम्म पुगेर नेपाली फिल्मलाई समर्थन गर्न आग्रह गरेको थियो । निर्माण पक्षका अनुसार सार्वजनिक पोस्टर र टिजरले दर्शकमाझ उत्सुकता बढाइरहेको छ ।
एक्सन जनरामा निर्माण भएको ‘कुम्भ’लाई व्यावसायिक रूपमा बलियो बनाउने लक्ष्यसहित निर्माण टिमले मोफसलमा आक्रामक प्रचार अभियान सञ्चालन गरिरहेको जनाएको छ । राजधानीसँगै बाहिरी जिल्लामा पनि नेपाली फिल्मप्रतिको उत्साह सकारात्मक देखिएकाले प्रदर्शनअघि थप प्रचार कार्यक्रम गरिने तयारी रहेको बताइएको छ ।


Tulac 







