प्रिमियरमै ‘गौँथली’को प्रशंसा, सासू–बुहारी सम्बन्धको यथार्थले दर्शक भावुक

प्रिमियरमै ‘गौँथली’को प्रशंसा, सासू–बुहारी सम्बन्धको यथार्थले दर्शक भावुक
प्रिमियरमै ‘गौँथली’को प्रशंसा, सासू–बुहारी सम्बन्धको यथार्थले दर्शक भावुक

काठमाडौं । नेपाली ग्रामीण समाजको यथार्थलाई पर्दामा उतारेको फिल्म **‘गौँथली’**ले प्रदर्शनअघि नै दर्शकको मन जित्न सफल भएको छ। सोमबार काठमाडौंस्थित सिभिल मलमा आयोजित विशेष प्रिमियर शोमा उपस्थित दर्शक, फिल्मकर्मी तथा विशिष्ट अतिथिहरूले फिल्मको कथा, निर्देशन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मले दुई दशकअघिको नेपाली गाउँघरको परिवेश र सासू–बुहारी सम्बन्धमा देखिने सामाजिक यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। विशेषगरी सासूले जानेर वा नजानेर बुहारीमाथि गर्ने व्यवहार र त्यसले परिवारमा पार्ने प्रभावलाई फिल्मको मुख्य विषय बनाइएको छ।

करिब २ घण्टा २० मिनेट लामो फिल्मले सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँधेर राखेको प्रतिक्रिया प्रिमियरमा सहभागीहरूले दिएका छन्। कथा प्रस्तुति सरल, सशक्त र जीवन्त रहेको भन्दै निर्देशक डा. कपिल रिजालको निर्देशनको विशेष प्रशंसा गरिएको छ।

प्रिमियरमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको अभिनय सबैभन्दा बढी चर्चामा रह्यो। अटिजम भएका पात्रको भूमिकामा अरुण क्षेत्रीले देखाएको जीवन्त अभिनय तथा बुहारीको भूमिकामा सिम्रन खड्काले प्रस्तुत गरेको स्वाभाविक अभिनयले दर्शकको मन छोएको प्रतिक्रिया आएको छ।

प्रिमियर शोमा कलाकार कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी तथा पत्रकार प्रकाश सुवेदीलगायत कला क्षेत्रका अग्रज र नयाँ पुस्ताका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले फिल्मले तत्कालीन नेपाली समाजको वास्तविक चित्रण गर्न सफल भएकाले दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा डा. भोला रिजालले लेखेका हुन् भने निर्देशन डा. कपिल रिजालले गरेका छन्। पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका छन्।

फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। सह–निर्मातामा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली आबद्ध छन्।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, सिम्रन खड्का, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्। फिल्मको छायांकन हरि हुमागाईं, सम्पादन मिलन श्रेष्ठ तथा मुख्य सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन्।