तिङ्कर भञ्ज्याङको जङ्गे सीमास्तम्भमै नबल खड्काको पुस्तक विमोचन, सीमासुरक्षाका लागि आम्दानीको ५० प्रतिशत सहयोग घोषणा

तिङ्कर भञ्ज्याङको जङ्गे सीमास्तम्भमै नबल खड्काको पुस्तक विमोचन, सीमासुरक्षाका लागि आम्दानीको ५० प्रतिशत सहयोग घोषणा
तिङ्कर भञ्ज्याङको जङ्गे सीमास्तम्भमै नबल खड्काको पुस्तक विमोचन, सीमासुरक्षाका लागि आम्दानीको ५० प्रतिशत सहयोग घोषणा

काठमाडौं । चलचित्रकर्मी तथा लेखक नबल खड्काले आफ्नो नयाँ पुस्तक ‘नबल खड्का’ नेपालको उत्तर–पश्चिमी सीमामा रहेको दार्चुलाको तिङ्कर भञ्ज्याङस्थित ऐतिहासिक १ नम्बर जङ्गे सीमा स्तम्भमै पुगेर विमोचन गरेका छन्। समुद्री सतहदेखि ५,२५८ मिटर उचाइमा सम्पन्न उक्त कार्यक्रमलाई राष्ट्रिय स्वाभिमान र सीमाप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा हेरिएको छ।

राष्ट्रिय जेन्जी नागरिक अभियानको आयोजनामा भएको कार्यक्रममा अभियानका संयोजक सुनिल सिंहले पुस्तक सार्वजनिक गरेका थिए। कार्यक्रममा बोल्दै सिंहले नबल खड्कालाई देशप्रेम र राष्ट्रियताको सशक्त आवाजका रूपमा चित्रण गर्दै यस्ता स्रष्टा तथा अभियानकर्मीको योगदानको राज्यले उचित सम्मान गर्नुपर्ने बताए।

पुस्तक विमोचनसँगै अभिनेता खड्काले महत्वपूर्ण घोषणा पनि गरे। उनले आफ्नो पुस्तक ‘नबल खड्का’ तथा निर्माणाधीन चलचित्र ‘भीमदत्त’ र **‘काँडेतार’**बाट प्राप्त हुने कुल मुनाफाको ५० प्रतिशत रकम सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र देशहितका अभियानमा खर्च गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार कला र साहित्य केवल मनोरञ्जनका माध्यम नभई राष्ट्रिय चेतना जगाउने प्रभावकारी अभियान पनि हुन्।

कार्यक्रममा बोल्दै खड्काले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षणसमेत गराए। उनले ‘० नम्बर पिलर’को अवस्थाबारे प्रश्न उठाउँदै भने, “हामी ० नम्बर पिलर खोज्न गयौँ, तर भेटिएन। सरकारले ० नम्बर पिलर कहाँ छ, स्पष्ट रूपमा देखाओस्।” उनले लिपुलेक, लिम्पियाधुरा र महाकाली क्षेत्रको यथार्थ अवस्था बुझ्न सरकारी टोलीले स्थानीयसँगै कम्तीमा एक रात बिताएर वास्तविकता अवलोकन गर्नुपर्ने सुझाव पनि दिए।

देशको सिमानामै पुगेर गरिएको पुस्तक विमोचन र सीमासुरक्षाप्रति गरिएको आर्थिक सहयोगको घोषणाले नबल खड्काको यो अभियानलाई सांस्कृतिक मात्रै नभई राष्ट्रिय सरोकारसँग जोडिएको सन्देशमूलक पहलका रूपमा समेत हेरिएको छ।