यो साता ओटीटीमा १२ नयाँ फिल्म र वेब सिरिज, ‘इक्का’देखि ‘पेड्डी’सम्म के हेर्ने?

यो साता ओटीटीमा १२ नयाँ फिल्म र वेब सिरिज, ‘इक्का’देखि ‘पेड्डी’सम्म के हेर्ने?
यो साता ओटीटीमा १२ नयाँ फिल्म र वेब सिरिज, ‘इक्का’देखि ‘पेड्डी’सम्म के हेर्ने?

काठमाडौं । मनसुनसँगै सप्ताहन्त सुरु भएसँगै मनोरञ्जनप्रेमीका लागि ओटीटी प्लेटफर्ममा नयाँ फिल्म र वेब सिरिजहरूको लहर आएको छ। यस साता विभिन्न भाषाका १२ नयाँ फिल्म तथा सिरिज स्ट्रिमिङमा आएका छन्, जसमा हिन्दी, तेलुगु, मलयालम, स्पेनी, फ्रेन्च र कोलम्बियाली सामग्री समावेश छन्।

हिन्दी दर्शकका लागि यस साताको सबैभन्दा चर्चित रिलिज ‘इक्का’ हो। सन्नी देओल र अक्षय खन्ना अभिनीत यो कानुनी थ्रिलरमा एक चर्चित वकिलले आफ्नै पूर्वविरोधीको पक्षमा अदालतमा बहस गर्नुपर्ने चुनौतीपूर्ण कथावस्तु प्रस्तुत गरिएको छ। फिल्ममा तिलोत्तमा शोम, दिया मिर्जा, सन्जिदा शेख र आकांक्षा रञ्जन कपूरको पनि अभिनय रहेको छ।

मे महिनामा हलमा प्रदर्शन भएको आयुष्मान खुराना अभिनीत कमेडी–ड्रामा ‘पति पत्नी और वो दो’ पनि अब ओटीटीमा उपलब्ध भएको छ। पारिवारिक सम्बन्ध, प्रेम र गलतफहमीको कथामा आधारित यस फिल्ममा सारा अली खान, रकुल प्रीत सिंह र वामिका गब्बी मुख्य भूमिकामा छन्।

सत्य घटनाबाट प्रेरित स्पाइ थ्रिलर ‘मुखबिरः द स्टोरी अफ अ स्पाइ’ ले सन् १९६५ को भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा एक भारतीय जासुसको साहसिक अभियानलाई चित्रण गर्छ। फिल्ममा जैन खान दुर्रानीसँगै प्रकाश राज, आदिल हुसेन, हर्ष छाया लगायत कलाकारको अभिनय छ।

दक्षिण भारतीय फिल्मका दर्शकका लागि राम चरण र जान्हवी कपूर अभिनीत स्पोर्ट्स एक्सन–ड्रामा ‘पेड्डी’ पनि स्ट्रिमिङमा आएको छ। ग्रामीण परिवेशमा संघर्ष, प्रेम र प्रेरणादायी यात्रामा आधारित यो फिल्म अहिले तेलुगु भाषामा उपलब्ध छ भने हिन्दी संस्करण केही समयपछि आउने जनाइएको छ।

तेलुगु म्युजिकल फ्यान्टेसी ‘सिङ गीतम’ मा एउटा गाउँमा लागेको श्राप र जमिनमुनि गाडिएको सुनको रहस्यलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। यस्तै मलयालम एक्सन–ड्रामा ‘बाल्टी’ ले कबड्डी खेलाडीको अपराधको संसारमा पुग्ने कथा देखाउँछ भने ‘परिमला एन्ड कम्पनी’ ब्ल्याक कमेडी थ्रिलरका रूपमा दर्शकमाझ आएको छ।

अन्तर्राष्ट्रिय सामग्रीतर्फ स्पेनी वेब सिरिज ‘आइ एम नट अफ्रेड’, कोलम्बियाली ड्रामा ‘साल्सेडो, लेदर एन्ड बुगालु’, फ्रेन्च क्राइम–ड्रामा ‘नथिङ टु लुज’, पारिवारिक सिरिज ‘लिटिल हाउस अन द प्रेयरी’ र कोलम्बियाली कमेडी–ड्रामा ‘सुसाना एन्ड एल्भिराः नो प्लान बी’ पनि यस साता ओटीटीमा रिलिज भएका छन्।

यसरी, सप्ताहन्तमा घरमै बसेर विविध विधाका नयाँ फिल्म र वेब सिरिज हेर्न चाहने दर्शकका लागि यो साता ओटीटी प्लेटफर्ममा प्रशस्त विकल्प उपलब्ध भएका छन्।