सत्य घटनामा आधारित फिल्म ‘रातो घेरा’को छायांकन सुरु, दयाहाङ–मिरुना मुख्य भूमिकामा
काठमाडौं । सत्य घटनाबाट प्रेरित नयाँ नेपाली फिल्म **‘रातो घेरा (द रेड सर्कल)’**को छायांकन औपचारिक रूपमा सुरु भएको छ। विश्राम फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पहिलो चरणको ३० दिने छायांकन भक्तपुरबाट प्रारम्भ गरिएको निर्माण टिमले जनाएको छ।
निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्मका महत्त्वपूर्ण दृश्यहरू भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदामा खिचिनेछन्। निर्माण टिमले पहिलो चरणको सम्पूर्ण छायांकन यही सेड्युलभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।
सामाजिक यथार्थ, मानवीय संवेदना र रहस्यलाई केन्द्रमा राखेर निर्माण भइरहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, खड्गबहादुर पुन, इन्गी हाप्पो सुनुवार लगायत दुई दर्जनभन्दा बढी कलाकारको अभिनय रहनेछ।
निर्देशक मगरका अनुसार वास्तविक घटनामा आधारित कथा भएकाले छायांकनदेखि कलाकारको अभिनयसम्म स्वाभाविकता र यथार्थतालाई विशेष प्राथमिकता दिइएको छ। विषयवस्तु र निर्माण दुवै पक्षमा उत्कृष्ट फिल्म प्रस्तुत गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए।
फिल्मको कथा तथा पटकथा राजु स्याङताङले तयार पारेका हुन्। छायांकन शिशिर बिसंखे, सम्पादन जीवन थापा, संगीत मनोज थापा मगर र सागर आलेको रहेको छ। गीतका शब्द श्रवण मुकारुङ र शिव हमालले लेखेका छन्।
फिल्मका निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन हुन्। सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा आबद्ध छन् भने फिरोज खड्का मुख्य सहायक निर्देशकको जिम्मेवारीमा छन्।
यसैगरी प्रोडक्सन डिजाइन रामलाल खड्का, आर्ट निर्देशन कृपा खड्गी, कस्ट्युम डिजाइन जानकी कडायत र मेकअप विक्रम थापाले सम्हालेका छन्।
काफिया फिल्म्सले वितरण अधिकार लिएको ‘रातो घेरा’को पहिलो चरणको छायांकन सम्पन्न भएपछि पोस्ट–प्रोडक्सनको काम अघि बढाइने निर्माण पक्षले जनाएको छ। बलियो कथावस्तु, चर्चित कलाकारको अभिनय र अनुभवी प्राविधिक टोलीका कारण फिल्मलाई आगामी वर्षको बहुप्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ। फिल्म २०८३ मंसिर १८ गते देशभरका सिनेमाघरमा प्रदर्शन हुने तय गरिएको छ।


Tulac








