कोशी प्रदेश पौडी संघको आयोजना मा खुल्ला पौडी प्रतियोगिता आयोजना हुदै

कोशी प्रदेश पौडी संघको आयोजना मा खुल्ला पौडी प्रतियोगिता आयोजना हुदै


इटहरी, कोशी प्रदेश
कोशी प्रदेश पौडी संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा पूर्वाञ्चल स्तरीय तेस्रो खुल्ला स्विमिङ प्रतियोगिता आयोजना हुने भएको छ। संघले एक पत्रकार सम्मेलन मार्फत आगामी असार १४ र १५ गते प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो।
विगतका अनुभवहरूलाई समेट्दै यस वर्ष अझ स्तरीय तरिकाले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। पौडी खेललाई निरन्तरता दिँदै कोशी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू (स्विमरहरू) उत्पादन गर्ने र यस क्षेत्रको पौडीको स्तर उन्नति गर्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता नियमित रूपमा आयोजना गरिँदै आएको छ।


२३ विधामा प्रतिस्पर्धा र आकर्षक पुरस्कार
यस प्रतियोगितामा पौडीका विभिन्न २३ विधाहरूमा प्रतिस्पर्धा गराइने छ। पोइन्टका आधारमा मूल्याङ्कन गरिने यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमहरूलाई क्रमशः नगद रु. ५०,०००, ३०,००० र २०,००० का साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ।
यसका साथै प्रत्येक व्यक्तिगत इभेन्टमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि मेडल र प्रमाणपत्र दिइने छ भने प्रतियोगिताकै उत्कृष्ट तथा ऊर्जावान खेलाडीलाई नगद र प्रमाणपत्रले विशेष सम्मान गरिने आयोजकले जनाएको छ।


खेलाडीहरूलाई विशेष सुविधा र छनोट
प्रतियोगितालाई व्यवस्थित बनाउन नेपाल पौडी संघले प्राविधिक पक्षमा सहयोग गर्नेछ। खेल नेपाल सरकार र पौडी संघको नियम तथा निर्देशन (ल एण्ड अर्डर) पालना गरी विधिगत रूपमा सञ्चालन हुनेछ। विभिन्न जिल्लाबाट सहभागी हुन आउने खेलाडी तथा टिम व्यवस्थापकहरूका लागि दुवैतर्फी सार्वजनिक यातायात भाडा, खेल पोशाक (जर्सी), खाना, खाजा र आवास (बस्ने) को पूर्ण व्यवस्था आयोजकले गरेको छ।


यस प्रतियोगिताको माध्यमबाट कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा सहभागी हुन योग्य महिला तथा पुरुष खेलाडीहरूको छनोट गरिने छ। छनोट भएका खेलाडीहरूलाई आगामी दिनमा उचित तालिम तथा अन्य प्राविधिक पक्षको व्यवस्थापन मिलाइने कार्यक्रम संयोजक तथा कोशी प्रदेश पौडी संघका उपाध्यक्ष रमेश कुमार तामाङले जानकारी दिनुभयो।
आयोजकले पूर्वाञ्चल क्षेत्रका सम्पूर्ण पौडी प्रेमी, जानकार व्यक्तिहरू र खेलाडीहरूलाई यस खुल्ला प्रतियोगितामा उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेको छ।