'मिस्टर एण्ड मिस लिटिल पूर्वेली' को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न

'मिस्टर एण्ड मिस लिटिल पूर्वेली' को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न

बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित 'मिस्टर एण्ड मिस लिटिल पूर्वेली' को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । ओपन स्पेस प्रालीको आयोजनामा यही शनिबार अर्थात् माघ १७ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालेमा सिनियर र जुनियर दुवै विधामा विजेताहरू घोषित गरिएका हुन् । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न चरणको कडा प्रतिस्पर्धा पार गर्दै आर्यक ओझा र योदिन गुरुङले उपाधि चुमेका छन् ।

 निर्णायकहरूको मूल्याङ्कन र प्रतिभा प्रस्तुतीका आधारमा जुनियर र सिनियर क्याटागोरीमा बालबालिकाहरूले उपाधि हासिल गरे । जुनियर क्याटागोरी तर्फ फर्स्ट रनर अप साङ्केनमा राई, सेकेन्ड रनर अप काव्या कार्की, थर्ड रनर अप आरोही राउत, पब्लिक च्वाइस लुना फुयाल, अर्गनाइजर च्वाइस इतिश कट्टेल भएका छन् । यस्तै सिनियर क्याटागोरी तर्फ फर्स्ट रनर अप लारेसा जिमी, सेकेन्ड रनर अप शाइना गुरुङ, थर्ड रनर अप संरक्षण दाहाल, पब्लिक च्वाइस प्रशंसा कट्वाल र अर्गनाइजर च्वाइस आरजु रौतेर बन्न सफल भएका छन् ।

 प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायक मण्डलमा रहेका थिए । म्यान अफ द वर्ल्ड २०२५ का प्रकाश चौहान, मिस नेपाल आइडल २०१८ की विजेता मेरिना तुम्सा लिम्बू, मिसेस पुर्बेली आईकन २०२४ को सेकेन्ड रनरअप तथा बैंकर दीपिका भट्टराई र ग्रेस इन्टरनेसनल इटहरीका एकेडेमिक हेड रेजन राई निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रमको सञ्चालन सीता पुरी र शुभेच्छा कार्कीले संयुक्त रूपमा गरेका थिए ।

 ओपन स्पेस प्रालीका सिइओ सजिना श्रेष्ठको नेतृत्वमा भएको यस कार्यक्रमको निर्देशन सरोज श्रेष्ठले गरेका थिए भने कोरियोग्राफी शुभेच्छा कार्कीले सम्हालेकी थिइन् । मिडिया कोअर्डिनेटरको भूमिकामा सुवास संकल्प रहेका थिए । बालबालिकाहरूको व्यक्तित्व विकास र आत्मविश्वास बढाउन यस्ता मञ्चहरूले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा कार्यक्रममा उपस्थित अतिथिहरुको रहेको थियो ।