इटहरीको क्यूएफएक्स सिनेमाज र चलचित्र पत्रकार संघ नेपाल सुनसरी बीच ६ बुँदे सम्झौता
इटहरी/ मोफसलमा चलचित्र पत्रकारितालाई थप व्यावसायिक र फराकिलो बनाउने तथा नेपाली फिल्म उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यका साथ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखा र इटहरीस्थित क्यूएफएक्स सिनेमाजबीच संस्थागत सहकार्यको सुरुवात भएको छ । विभिन्न चरणमा भएका छलफलपछि असार १२ गते शुक्रबार तेस्रो चरणको निर्णायक भेटबाट दुवै पक्षबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
क्यूएफएक्स सिनेमाज इटहरीकी ब्रान्च म्यानेजर अस्मिता गुरागाईं र चलचित्र पत्रकार संघ सुनसरीका तर्फबाट अध्यक्ष सुवास संकल्प श्रेष्ठ तथा सचिव मनोज दाहालले सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरे ।
सम्झौताका मुख्य बुँदाहरू:
-
निःशुल्क फिल्म हेर्ने व्यवस्था: संघमा आबद्ध सञ्चारकर्मीहरूले आधिकारिक परिचयपत्रका आधारमा क्यूएफएक्स इटहरीमा फिल्म हेर्न पाउनेछन्, जसले फिल्म समीक्षा र विश्लेषणमा सहजता थप्नेछ।
-
प्रवर्द्धन र विज्ञापन आदानप्रदान: हलको ठूलो पर्दामा चलचित्र पत्रकार संघ सुनसरीको परिचयात्मक प्रोमो (भिडियो) बज्नेछ भने पत्रकारका मिडियाहरूमा क्यूएफएक्सका विज्ञापनहरू प्रकाशन तथा प्रसारण हुनेछन्।
-
निःशुल्क हल उपलब्ध गराइने: संघले आयोजना गर्ने पत्रकार सम्मेलन वा विशेष कार्यक्रमका लागि क्यूएफएक्स इटहरीले आपसी समन्वयमा निःशुल्क हल उपलब्ध गराउनेछ।
-
आर्थिक तथा अन्य सहयोग: संघका ठूला कार्यक्रमहरूमा क्यूएफएक्स व्यवस्थापनले आवश्यकताअनुसार आर्थिक तथा अन्य सहयोग गर्नेछ।
-
मिडिया सहकार्य: क्यूएफएक्सका विशेष कार्यक्रम, फिल्म अभियान र अफरहरूलाई पत्रकारहरूले आम दर्शकमाझ पुर्याउनेछन् भने सशुल्क विज्ञापनको आर्थिक पाटो आपसी सहमतिमा तय हुनेछ।
यसअघि पहिलो चरणको छलफलमा क्यूएफएक्स सिनेमाजका प्रोजेक्ट म्यानेजमेन्ट हेड सुशील कुमार मानन्धर, मार्केटिङ म्यानेजर शशिम शाक्य र इटहरी ब्रान्च म्यानेजर अस्मिता गुरागाईंसँग संघका तर्फबाट अध्यक्ष श्रेष्ठ र सल्लाहकार भट्टराईबीच सहकार्यको खाका बारे छलफल गरिएको थियो । लामो समयको सोही सम्वादले शुक्रबार मूर्तरूप लिएको चलचित्र पत्रकार संघ सुनसरीका सचिव मनोज दाहालले जानकारी दिएका छन् जसबाट सञ्चारमाध्यम र चलचित्र प्रदर्शन गृह बीच बलियो सम्बन्ध स्थापित गर्दै दर्शकहरूमाझ सकारात्मक फिल्म संगै नेपाली संस्कृतिको विकास गर्न यो सम्झौता कोसेढुङ्गा साबित हुने दुवै पक्षले विश्वास व्यक्त गरेका छन्।










