विजय मल्लको चर्चित उपन्यास ‘अनुराधा’ अब फिल्म बन्दै, प्रदीप कुमार उदयले लिए निर्माणको जिम्मा

विजय मल्लको चर्चित उपन्यास ‘अनुराधा’ अब फिल्म बन्दै, प्रदीप कुमार उदयले लिए निर्माणको जिम्मा
विजय मल्लको चर्चित उपन्यास ‘अनुराधा’ अब फिल्म बन्दै, प्रदीप कुमार उदयले लिए निर्माणको जिम्मा

काठमाडौं । नेपाली साहित्यको चर्चित कृति ‘अनुराधा’ अब चलचित्रका रूपमा दर्शकमाझ आउने भएको छ। साहित्यकार विजय मल्लद्वारा लिखित यस उपन्यासमाथि निर्माता, वितरक तथा प्रदर्शक प्रदीप कुमार उदयले फिल्म निर्माण गर्ने तयारी थालेका हुन्।

पितृसत्तात्मक समाजभित्र महिलाले भोग्नुपर्ने विभेद, उत्पीडन र संघर्षलाई केन्द्रमा राखेर लेखिएको ‘अनुराधा’ उपन्यास नेपाली साहित्यमा महत्वपूर्ण कृतिका रूपमा परिचित छ। उपन्यासमा मुख्य पात्र अनुराधाले सामाजिक बन्धन र अन्यायविरुद्ध गरेको विद्रोहलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार फिल्मले पनि यही मूल भावनालाई समेट्दै सामाजिक, राजनीतिक, सांस्कृतिक तथा शैक्षिक सन्देश बोकेको कथा प्रस्तुत गर्नेछ।

फिल्म निर्माणका लागि निर्माता उदयले चलचित्र विकास बोर्डबाट आवश्यक इजाजतसमेत प्राप्त गरिसकेका छन्। फिल्मको कथा तथा आधार सामग्री विजय मल्लकै चर्चित उपन्यास रहने जनाइएको छ।

पी.आर. सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्देशन र कलाकार चयन प्रक्रिया भने अझै बाँकी रहेको छ। निर्माण पक्षका अनुसार करिब १ करोड ३५ लाख रुपैयाँको लागतमा फिल्म निर्माण गरिनेछ। फिल्मबारे विस्तृत जानकारी, कलाकार तथा प्राविधिक टोलीको घोषणा आगामी दिनमा गरिने बताइएको छ।

निर्माता प्रदीप कुमार उदय नेपाली फिल्म उद्योगका परिचित नाम हुन्। उनले यसअघि ‘चेलीबेटी’, ‘अल्पविराम’, ‘कहीँ मिलन कहीँ बिछोड’, ‘पहिलो पहिलो माया’, ‘मालतीको भट्टी’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘अधकट्टी’, ‘मञ्जरी’, ‘नमस्ते नेपाल’, ‘संरक्षण’ र ‘शुभ लभ’ जस्ता फिल्म निर्माण गरिसकेका छन्। उनको निर्माणमा बनेको ‘लाखे आजु’ भने प्रदर्शनको प्रतीक्षामा रहेको छ।

नेपाल चलचित्र संघका पूर्व अध्यक्षसमेत रहेका उदयले साहित्यिक कृतिलाई पर्दामा उतार्ने तयारी थालेपछि ‘अनुराधा’प्रति फिल्मकर्मी र साहित्यप्रेमी दुवैको चासो बढेको छ। साहित्य र चलचित्रको सेतु बन्ने अपेक्षा गरिएको यो परियोजनाले नेपाली फिल्म क्षेत्रमा नयाँ बहस र विमर्श सिर्जना गर्ने विश्वास गरिएको छ।