काठमाडौं । करिब दुई दशकअघि वरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालले निर्माण गरेको नेपालकै पहिलो गीति फिल्म ‘गौँथली’ले प्रदर्शनका क्रममा ५१ दिन मनाउँदै इतिहास रचेको थियो । अब सोही नाम र भावनात्मक विरासतलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यसहित निर्देशक डा. कपिल रिजाल नयाँ कथावस्तु र कलाकारसहित दर्शकमाझ आउँदैछन् ।
आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’ले शारीरिक समस्याले व्यक्तिको जीवन, परिवार र सम्बन्धमा पार्ने प्रभावलाई मार्मिक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । फिल्मको शीर्षक ‘गौँथली’ले घर, परिवार, माया र आत्मीयताको प्रतीकात्मक अर्थ बोकेको बताइएको छ ।
फिल्ममा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का पहिलोपटक श्रीमान्–श्रीमतीको भूमिकामा देखिँदैछन् । ‘महापुरुष’बाट चर्चित बनेका अरुण र ‘प्रेमगन्ज’, ‘चित्रा’ तथा ‘बेहुली फ्रम मेघौली’मार्फत दर्शकमाझ स्थापित सिम्रनको जोडीलाई लिएर दर्शकमाझ उत्साह देखिएको छ ।
प्रचारप्रसारमा समेत नयाँ शैली अपनाएको निर्माण टिमले हालै सार्वजनिक गरेको स्याड भर्सन गीत ‘आँखा भरी आँसु’को रिलिज कार्यक्रममा अरुण र सिम्रनलाई बेहुला–बेहुलीको भेषमा प्रस्तुत गरेको थियो । उनीहरूको उक्त उपस्थितिले कार्यक्रममा सहभागी पत्रकार तथा अतिथिहरूलाई समेत आश्चर्यचकित बनाएको थियो ।
डा. भोला रिजालको शब्द, थानेश्वर गौतमको संगीत तथा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको ‘आँखा भरी आँसु’ गीतसँगै यसअघि सार्वजनिक गरिएको टिजरले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । प्राप्त प्रतिक्रियाबाट उत्साहित निर्देशक डा. कपिल रिजालले फिल्मको विषयवस्तु र कलाकारहरूको अभिनयप्रति दर्शकले देखाएको विश्वासले थप ऊर्जा दिएको बताए ।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजाललाई निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले साथ दिएका छन् । फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ ।
बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिने फिल्ममा संगीत तथा पाश्र्वसंगीत शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीले तयार गरेका छन् । हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी, राजेन्द्र मोक्तानको कलर तथा मुकेश शाहको ध्वनि मिश्रण रहेको फिल्ममा गिरिराज घिमिरे सहायक निर्देशकका रूपमा रहेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् ।
डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्नेछन् । दुई दशकअघिको सांगीतिक विरासत र नयाँ पुस्ताको अभिनय ऊर्जाको संगम बनेको ‘गौँथली’ले साउन १ गतेदेखि दर्शकमाझ विशेष छाप छोड्ने निर्माण टिमको विश्वास छ ।