‘क्याप्टेन साब’को छायांकन सम्पन्न, अब पोस्ट–प्रोडक्सनमा केन्द्रित हुने टोली
काठमाडौं । पाइलट, सफल व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकन सम्पन्न भएको छ । बुधबार अन्तिम दृश्य खिचिएसँगै फिल्मको सम्पूर्ण सुटिङ सकिएको निर्माण टोलीले जनाएको छ ।
गत वर्ष साउन १० गतेबाट सुरु भएको फिल्मको छायांकन दुई चरणमा सम्पन्न गरिएको हो । काभ्रे, काठमाडौं र वीरगञ्जका विभिन्न स्थानमा खिचिएको फिल्मको दोस्रो चरणको सुटिङ दुई साताअघि सुरु भएको थियो । बुधबार ‘इन्डक्ल्याप’ गरिएसँगै अब फिल्म पोस्ट–प्रोडक्सनको चरणमा प्रवेश गर्ने भएको छ ।
फिल्मको निर्देशन दीपेन्द्र के. खनालले गरेका छन् भने मुख्य भूमिकामा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली रहेका छन् । यसअघि ‘धनपति’मा सफल सहकार्य गरेका निर्देशक दीपेन्द्र, खगेन्द्र र सुरक्षाको टोली पुनः एकसाथ देखिन लागेको हो ।
कथावस्तु र पात्र चयनका कारण सुरुदेखि नै चर्चामा रहेको ‘क्याप्टेन साब’ले नेपाली उड्डयन, व्यवसाय र सञ्चार क्षेत्रका परिचित व्यक्तित्व रामेश्वर थापाको जीवनयात्रालाई पर्दामा उतार्नेछ । निर्माण पक्षले फिल्मलाई यथार्थपरक र प्रेरणादायी ढंगले प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ ।
पटकथा प्रोडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता दीपेन्द्र के. खनाल र करण श्रेष्ठ हुन् । कृष्णबहादुर थापा छायाँकार रहेको फिल्ममा सौगात बस्नेत, सम्राट बस्नेत, एकी थेक्पा, रोहित राज गौतम र विष्णु बुढाथोकीलगायतको प्राविधिक टोली संलग्न छ ।
छायांकन सफलतापूर्वक सम्पन्न भएसँगै अब दर्शकको ध्यान फिल्मको पोस्ट–प्रोडक्सन र प्रदर्शन मितितर्फ केन्द्रित भएको छ ।


Tulac








