‘रोल नं १’ को व्यापारमा उछाल, दोस्रो सातामा दर्शकको उल्लेख्य साथ

‘रोल नं १’ को व्यापारमा उछाल, दोस्रो सातामा दर्शकको उल्लेख्य साथ
‘रोल नं १’ को व्यापारमा उछाल, दोस्रो सातामा दर्शकको उल्लेख्य साथ

काठमाडौं/  बालमनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीको यथार्थ चित्रण गर्ने नेपाली फिल्म रोल नं १ ले दोस्रो सातामा प्रवेशसँगै बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्रदर्शनको पहिलो सातापछि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मको व्यापारमा उल्लेख्य वृद्धि भएको निर्माण पक्षले जनाएको छ।

बलियो ‘वर्ड अफ माउथ’को प्रभावका कारण शनिबार देशभरका चलचित्र हलहरूमा फिल्मप्रति दर्शकको आकर्षण उच्च देखिएको छ। विशेषगरी काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरूमा फिल्म हेर्न आउने दर्शकको संख्या लगातार बढिरहेको छ। प्राप्त जानकारीअनुसार काठमाडौं उपत्यकाका अधिकांश हलमा फिल्मले पाएका शोहरूमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी कायम भएको छ भने केही शो पूर्ण रूपमा ‘हाउसफूल’ भएका छन्। राजधानीबाहिरका हलहरूमा पनि ४५ प्रतिशतभन्दा माथिको अकुपेन्सी देखिएको छ।

दिउँसैदेखि साँझसम्मका अधिकांश शोहरूमा अग्रिम बुकिङ उच्च रहेको निर्माण टिमले जनाएको छ। दर्शकको बढ्दो उपस्थितिले फिल्मले दोस्रो सातादेखि अझ सशक्त व्यापार गर्ने संकेत देखिएको विश्लेषण गरिएको छ।

फिल्मका निर्माता विनोद पौडेल ले दर्शकको साथप्रति खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले फिल्मले सुरुआती दिनमा बिस्तारै गति लिए पनि अहिले दर्शकको साथले नयाँ उचाइतर्फ अघि बढिरहेको बताएका छन्।

फिल्म हेरेर बाहिरिएका धेरै दर्शकले ‘रोल नं १’ लाई विद्यार्थी, शिक्षक र अभिभावक सबैले हेर्नुपर्ने चलचित्रका रूपमा प्रतिक्रिया दिएका छन्। बालबालिकामाथि बढ्दो शैक्षिक दबाब, परीक्षा प्रणाली र मूल्यांकन पद्धतिका विषयमा फिल्मले उठाएका प्रश्नहरू दर्शकमाझ प्रभावकारी रूपमा पुगेको बताइएको छ।

फिल्मको मुख्य विषयवस्तु बालमनोविज्ञानसँग सम्बन्धित छ। यसले वर्तमान शैक्षिक प्रणाली, अंककेन्द्रित मूल्यांकन र बालबालिकाको मानसिक अवस्थालाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ। यही यथार्थपरक कथावस्तुले दर्शकलाई आकर्षित गरिरहेको निर्माण पक्षको विश्वास छ।

सेभेन सिज सिनेमा को ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्देशन जोन योञ्जन ले गरेका हुन् भने कथा महेश दवाडी ले लेखेका छन्। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगीसिर्जना अधिकारी को मुख्य भूमिका रहेको छ।

त्यसैगरी बाल कलाकारहरू निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन्। छायांकन शिवराम श्रेष्ठ, संगीत प्रशान्त शिवाकोटी तथा सम्पादन मदन घिमिरेले गरेका छन्।

सकारात्मक प्रतिक्रिया र बढ्दो दर्शक उपस्थितिका कारण ‘रोल नं १’ दोस्रो सातामा नेपाली चलचित्र बजारको चर्चित फिल्मका रूपमा स्थापित हुँदै गएको देखिएको छ। बालमनोविज्ञान र शिक्षा प्रणालीजस्ता संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सफल भएको प्रतिक्रिया प्राप्त भइरहेको छ।