ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको दमदार सहभागिता, तीन टोली प्रतिस्पर्धामा

ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको दमदार सहभागिता, तीन टोली प्रतिस्पर्धामा
ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको दमदार सहभागिता, तीन टोली प्रतिस्पर्धामा

काठमाडौं । अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता **‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’**मा सहभागी हुन नेपाली नर्तकहरूको जम्बो टोली थाइल्यान्ड पुगेको छ। विश्वका उत्कृष्ट नर्तक, प्रशिक्षक र कोरियोग्राफरहरूको सहभागिता रहने प्रतियोगितामा यसपटक नेपालबाट तीन टोलीले प्रतिस्पर्धा गर्दै देशको प्रतिनिधित्व गर्ने भएका छन्।

ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार नेपालमा हालै सम्पन्न **‘वल्र्ड अफ डान्स नेपाल २०२६’**बाट छनोट भएका टोलीहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न थाइल्यान्ड पुगेका हुन्।

प्रतियोगितामा टिम डिभिजनका विजेता ‘टिम एनटी’, उपविजेता ‘दि इननेट सोल’ तथा जुनियर टिम डिभिजनका विजेता **‘एनडिए जुनियर’**ले नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताको उद्घाटन समारोह बुधबार साँझ आयोजना हुने तालिका छ।

यसपटक प्रतियोगितामा नेपाली अभिनेत्री परीक्षा लिम्बुको पनि सहभागिता रहनेछ। त्यस्तै, चर्चित नृत्य निर्देशक जेडी तमु निर्णायक (जज)को भूमिकामा सहभागी हुने भएका छन्। विश्वका प्रतिष्ठित निर्णायकहरूसँगै जज प्यानलमा उनको सहभागितालाई नेपाली नृत्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

निर्देशक गहतराजका अनुसार यति ठूलो अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपालबाट पहिलोपटक यस स्तरमा निर्णायक चयन हुनु नेपाली नृत्य समुदायका लागि गर्वको विषय हो।

यस वर्षको प्रतियोगितामा विश्वप्रसिद्ध नृत्यांगना तथा कोरियोग्राफर काया पियर्स पनि निर्णायकका रूपमा सहभागी रहनेछिन्। न्यूजिल्यान्डकी पियर्स अमेरिकी पपस्टार जस्टिन बिबरको चर्चित गीत **‘Sorry’**को म्युजिक भिडियोमा कोरियोग्राफी गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेकी हुन्।

प्रतियोगितामा विश्वभरबाट सयौँ नर्तक तथा नृत्य टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। विभिन्न शैलीका नृत्य प्रस्तुति, प्रतिस्पर्धात्मक प्रदर्शन र सांस्कृतिक आदानप्रदानका माध्यमबाट कार्यक्रम अन्तर्राष्ट्रिय नृत्य समुदायको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

बैंककमा आयोजना भइरहेको ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ जुलाई १५ देखि १९ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ एपिसोडमार्फत प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।