‘फेरि रेशम फिलिली’ निर्माण टिममै कानुनी विवाद, निर्माता रौनकविक्रम कँडेलले विनय श्रेष्ठविरुद्ध दायर गरे मुद्दा

‘फेरि रेशम फिलिली’ निर्माण टिममै कानुनी विवाद, निर्माता रौनकविक्रम कँडेलले विनय श्रेष्ठविरुद्ध दायर गरे मुद्दा
‘फेरि रेशम फिलिली’ निर्माण टिममै कानुनी विवाद, निर्माता रौनकविक्रम कँडेलले विनय श्रेष्ठविरुद्ध दायर गरे मुद्दा

काठमाडौं । नेपाली फिल्म ‘फेरि रेशम फिलिली’ प्रदर्शनको तयारीमा रहेका बेला यसको निर्माण टिमभित्रको विवाद अदालतसम्म पुगेको छ। फिल्मका निर्माता रौनकविक्रम कँडेलले अभिनेता तथा सह–निर्माता विनय श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा लेनदेनसम्बन्धी मुद्दा दायर गरेका छन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार कँडेलले जेठ १३ गते अदालतमा मुद्दा दायर गर्दै विनय श्रेष्ठले करारअनुसार पूरा गर्नुपर्ने दायित्व पूरा नगरेको दाबी गरेका छन्। अदालतका अनुसार विवाद मुख्यतः दुवै पक्षबीच भएको आर्थिक लेनदेन र सम्झौता कार्यान्वयनसँग सम्बन्धित रहेको छ।

विवादसँगै विभिन्न सञ्चारमाध्यममा विनय श्रेष्ठले कँडेललाई ९१ लाख रुपैयाँ तिर्नुपर्ने दाबी गरिएको समाचार सार्वजनिक भए पनि अदालतले भने मुद्दासँग सम्बन्धित रकमबारे आधिकारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन। सूचना अधिकारी खतिवडाले मुद्दा विचाराधीन रहेकाले रकमबारे टिप्पणी गर्न नमिल्ने बताएका छन्।

अदालतका अनुसार प्रतिवादीलाई जेठ २७ गते म्याद तामेल भइसकेको छ भने अहिले प्रत्यूत्तर दर्ता भइसकेको अवस्था रहेको छ। अब दुवै पक्षका कानुनी बहस र प्रमाणका आधारमा अदालतले मुद्दालाई अगाडि बढाउनेछ।

एकै फिल्मका दुई निर्माण साझेदारबीचको यो विवादले नेपाली फिल्म उद्योगमा पनि चर्चा पाएको छ। फिल्म निर्माणका क्रममा भएका आर्थिक सम्झौता र जिम्मेवारीलाई लिएर सुरु भएको असहमति अब कानुनी प्रक्रियामा प्रवेश गरेपछि यसको अन्तिम टुंगो अदालतको निर्णयबाट मात्र लाग्ने भएको छ।