इटहरीमा जुनियर तेक्वान्दोको रोमाञ्चक प्रतिस्पर्धा : महर्षी प्रथम, कुशल र भूमिका उत्कृष्ट खेलाडी

इटहरीमा जुनियर तेक्वान्दोको रोमाञ्चक प्रतिस्पर्धा : महर्षी प्रथम, कुशल र भूमिका उत्कृष्ट खेलाडी

सुनसरी (आई.टि.एफ.) तेक्वान्दो संघको आयोजनामा “प्रथम जुनियर इटहरी नगरस्तरीय (आई.टि.एफ.) तेक्वान्दो प्रतियोगिता–२०८३” भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता जेठ ९ गते शनिबार इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा उत्साहजनक सहभागितासहित सम्पन्न भएको आयोजकले जनाएको छ। खेलकुदमार्फत स्वास्थ्य, अनुशासन तथा राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा सुनसरी जिल्लाका विभिन्न डोजाङ्गबाट आएका जुनियर खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगिताभर खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगितामा महर्षी इङ्लिस स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ।

महर्षीले १३ गोल्ड, ५ सिल्भर र १ ब्राउन्ज पदक हात पार्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। त्यसैगरी, प्याराडाइज इङ्लिस स्कुल ११ गोल्ड, ६ सिल्भर र ३ ब्राउन्ज पदकसहित दोस्रो स्थानमा रह्यो भने एप्पल ट्रि मन्टेश्वरी ९ सिल्भर र ४ ब्राउन्ज पदकसहित तेस्रो स्थान हासिल गर्न सफल भयो। व्यक्तिगततर्फ पुरुष उत्कृष्ट खेलाडीको उपाधि महर्षी इङ्लिस स्कुलका कुशल तामाङले जिते भने महिला उत्कृष्ट खेलाडीको उपाधि प्याराडाइज इङ्लिस स्कुलकी भूमिका राईले हात पार्न सफल भइन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित इटहरी उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष माधव कोइराला ले खेलकुदले बालबालिका तथा युवाहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेल प्रतिभा पहिचान र विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे। त्यसैगरी, आइ.टि.एफ. तेक्वान्दो संघ मोरङका अध्यक्ष चतुरलाल चौधरी ले तेक्वान्दो केवल खेल मात्र नभई आत्मरक्षा, अनुशासन र आत्मविश्वास सिकाउने माध्यम भएको उल्लेख गर्दै खेलाडीहरूलाई निरन्तर अभ्यासमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न शुभकामना व्यक्त गरे। शान्तीनगर सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष गंगा गुरुङ ले समुदायको सहयोग र सहभागिताले यस्ता कार्यक्रमहरू अझ प्रभावकारी बन्ने बताउँदै बालबालिकालाई खेलकुदतर्फ आकर्षित गर्नु आजको आवश्यकता रहेको धारणा राखिन्।

त्यस्तै, तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष गंगा बहादुर राय ले खेलकुदले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताउँदै युवाहरूलाई दुर्व्यसनबाट टाढा राख्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। एप्पल ट्रि मन्टेश्वरीका प्रवन्ध निर्देशक सन्तोष कट्वाल ले विद्यालयस्तरबाटै खेलकुदलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधिसँगै खेलकुद पनि उत्तिकै आवश्यक रहेको बताए। कार्यक्रमको सह–आयोजकमा द शान्तिनगर युथ क्लब रहेको थियो भने विभिन्न शैक्षिक संस्थाहरू तथा क्लबहरूको प्रायोजन र सहयोग रहेको थियो। साथै, इटहरी उपमहानगरपालिका वडा नं. २ को समन्वयमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगिताले युवा खेलाडीहरूमा अनुशासन, आत्मविश्वास र खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ। साथै, स्थानीय स्तरमा आई.टि.एफ. तेक्वान्दो खेलको विकास तथा नयाँ प्रतिभावान खेलाडीहरूको पहिचान गर्न प्रतियोगिता प्रभावकारी बनेको बताइएको छ।