सलल कर्णाली’ सार्वजनिक, प्रमोद खरेलको नयाँ ब्याण्ड गीतमा कर्णालीको मौलिक स्वाद
काठमाडौं/ ‘प्रमोद एण्ड परम्परा ब्याण्ड’को आधिकारिक गीत ‘सलल कर्णाली’ सार्वजनिक गरिएको छ। एप्रिकस क्याफेमा आयोजित विशेष कार्यक्रममा भिडियो सार्वजनिक गर्दै गीतलाई दर्शकमाझ प्रस्तुत गरिएको हो।
कार्यक्रममा निर्माण तथा कलाकार टोलीको उपस्थिति रहेको थियो। गीतलाई कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र भावनात्मक कथावस्तु झल्किने गरी तयार गरिएको निर्माण पक्षले जनाएको छ। गीतमा प्रमोद खरेल को स्वर रहेको छ भने सृष्टि बुढाको सर्पोटिङ भोकल पनि समावेश गरिएको छ। गीतको शब्द तथा संगीत सुरज थापा ले तयार पारेका हुन्। संगीत संयोजनको काम परम्परा ब्याण्ड र सुरज थापाको टोलीले संयुक्त रूपमा गरेको हो।
भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाही को अभिनय देख्न सकिन्छ। कर्णालीमै छायांकन गरिएको भिडियोले त्यहाँको प्राकृतिक दृश्यलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरेको छ। छायांकन अर्जुन तिवारी को टोलीले गरेको हो भने निर्देशन लक्ष्मण पौड्याल ले गरेका हुन्। सम्पादनको जिम्मा मिलन विश्वकर्मा ले सम्हालेका छन्।
गायक खरेलले ‘सलल कर्णाली’लाई ब्याण्डको प्रतिक्षित र विशेष गीतका रूपमा प्रस्तुत गरिएको बताए। उनले अडियो र भिडियो दुवै पक्षमा टिमले मेहनत गरेको उल्लेख गर्दै अब दर्शक र श्रोताबाट स्वतन्त्र प्रतिक्रिया अपेक्षा गरिएको बताए।
कार्यक्रममा जुम्ला सिन्जाकी १४ वर्षीया सृष्टि बुढाले पनि गीतमा साथ दिएकी छिन्। मौलिक आवाज खोज्ने उद्देश्यले उनलाई पहिलो पटक व्यावसायिक गीतमा अवसर दिइएको निर्माण पक्षले जनाएको छ।
सोही अवसरमा गायक खरेललाई कुरियर सर्भिस कम्पनी गाउँबेशी लजिस्टिक को व्यवसायिक दूत (ब्रान्ड एम्बेसडर) का रूपमा नियुक्त गरिएको छ। कार्यक्रममै दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
यसै अवसरमा प्रमोद खरेलले भिडियो छायांकन गरिएको जुम्लाको तल्फी गाउँस्थित विद्यालयका विद्यार्थीहरूका लागि आफ्नै तर्फबाट शैक्षिक सामग्री सहयोग गर्ने घोषणा समेत गरेका छन्। ‘सलल कर्णाली’ले कर्णालीको प्राकृतिक सौन्दर्यसँगै सांगीतिक मौलिकता उजागर गर्ने अपेक्षा गरिएको छ।


Tulac








