आठ वर्षपछि निर्देशनमा रेखा थापा, तीजमा आउँदै ‘माया भनेकै यस्तो होला’

आठ वर्षपछि निर्देशनमा रेखा थापा, तीजमा आउँदै ‘माया भनेकै यस्तो होला’
आठ वर्षपछि निर्देशनमा रेखा थापा, तीजमा आउँदै ‘माया भनेकै यस्तो होला’

काठमाडौं । नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री रेखा थापा आठ वर्षपछि पुनः निर्देशनमा फर्किएकी छन् । उनले निर्देशन गरेको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा देशभर प्रदर्शनमा आउने भएको छ ।

यो फिल्म रेखा थापाका लागि विशेष मानिएको छ, किनभने उनले पहिलोपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर रहेर निर्देशनको जिम्मेवारी सम्हालेकी छन् । हाल पोस्ट–प्रोडक्सनको चरणमा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक सम्बन्ध, भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।

फिल्मको अर्को आकर्षण भनेको यसको बलियो कलाकार टोली हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरीलगायतका चर्चित कलाकारहरू एउटै पर्दामा देखिनेछन् । साथै विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलको पनि अभिनय रहेको छ ।

मुख्य भूमिकामा रहेका दिल श्रेष्ठ ६ वर्षपछि ठूलो पर्दामा पुनरागमन गर्दैछन् । ‘पर्खि राख है’बाट अभिनय यात्रा सुरु गरेका दिलले यसपटक अनुभवी कलाकारहरूसँगको सहकार्यलाई आफ्नो करिअरको महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन् ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मका पटकथा लेखक ध्रुव लम्साल हुन् । हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माताको रूपमा रहेका छन् । सुदीप बरालको छायांकन र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्मले तीजको माहोलमा दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक कथा पनि दिने अपेक्षा गरिएको छ ।