गायिका अञ्जु पन्तकी छोरी परितोषिका र गायक पशुपति शर्मा एउटै फिल्मबाट डेब्यु गर्दै

गायिका अञ्जु पन्तकी छोरी परितोषिका र गायक पशुपति शर्मा एउटै फिल्मबाट डेब्यु गर्दै
गायिका अञ्जु पन्तकी छोरी परितोषिका र गायक पशुपति शर्मा एउटै फिल्मबाट डेब्यु गर्दै

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा नयाँ पुस्ता र लोकप्रिय सांगीतिक अनुहारहरूको प्रवेश निरन्तर बढिरहेको छ । यसै क्रममा गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त र चर्चित लोकगायक पशुपति शर्माले एउटै फिल्ममार्फत ठूलो पर्दामा डेब्यु गर्ने पक्का भएको छ ।

‘रघुजी फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको नाम सार्वजनिक नभएको फिल्मबाट दुवैले आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेका हुन् । निर्माण पक्षले यो प्रोजेक्टलाई अहिले सरप्राइजका रूपमा राख्दै औपचारिक घोषणा भने पछि गर्ने तयारी गरेको छ ।

गायिकाकी छोरी भए पनि परितोषिकाले गायन होइन, अभिनयलाई आफ्नो करिअरको रूपमा अघि बढाएकी छन् । उनले अभिनयको औपचारिक कोर्स पूरा गर्नुका साथै केही म्युजिक भिडियो र नाटकमा समेत आफ्नो क्षमता देखाइसकेकी छन् । केही साताअघि नै उनले फिल्म साइन गरिसकेको स्रोतले जनाएको छ ।

त्यस्तै, लोकसंगीतमा स्थापित नाम पशुपति शर्माको ठूलो पर्दामा प्रवेशलाई दर्शकले चासोका साथ हेरिरहेका छन् । सुरुमा अभिनय प्रस्तावलाई लिएर हिचकिचाएका उनले पछि कथा र निर्माण टिमसँगको छलफलपछि फिल्म स्वीकार गरेको बताइएको छ ।

अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने यस फिल्मलाई रघुनाथ सापकोटाले निर्माण गर्दैछन् । फिल्ममा परितोषिका र पशुपति शर्माको भूमिकाबारे स्पष्ट खुलाइएको छैन भने उनीहरू जोडीका रूपमा देखिने वा फरक भूमिकामा रहने भन्ने विषय पनि गोप्य राखिएको छ ।

निर्माण पक्षले फिल्मको नाम, सम्पूर्ण कलाकार सूची र विस्तृत विवरण यही साता औपचारिक कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । सांगीतिक क्षेत्रका दुई परिचित अनुहारको यो नयाँ यात्राले दर्शकमा थप उत्सुकता बढाएको छ ।