वर्ल्ड अफ डान्स नेपाल’ ग्रान्ड फिनालेमा टेरेन्स लुइस, नेपाली प्रतिभाको प्रशंसा
काठमाडौं / नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सेलिब्रेटी जजका रूपमा सहभागी हुन चर्चित बलिउड कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कार्यक्रमका कला निर्देशक जेडी तमु, राष्ट्रिय निर्देशक रोशन गहतराज लगायत आयोजक टोलीले स्वागत गरेका थिए।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लुइसले नेपाल आउन पाउँदा गर्व महसुस भएको बताए। उनले नेपाली नृत्य प्रतिभाको खुलेर प्रशंसा गर्दै सीमित स्रोतसाधनका बीच पनि नेपाली कलाकारहरूले विश्वस्तरीय प्रस्तुति दिन सक्ने क्षमता विकास गरेको उल्लेख गरे।
भारतमा कन्टेम्पररी नृत्यलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका लुइसले ‘लगान’ र ‘झन्कार बिट्स’ जस्ता चर्चित चलचित्रमा कोरियोग्राफी गरेका छन्। साथै ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता रियालिटी शोमार्फत पनि उनले व्यापक लोकप्रियता हासिल गरेका छन्।
सन् २००८ मा अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको वर्ल्ड अफ डान्स हाल ५० भन्दा बढी देशमा विस्तार भइसकेको विश्वस्तरीय नृत्य मञ्च हो। यसलाई नेपालमा आयोजना गरेर नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
आज हुने ग्रान्ड फिनालेमा निर्णायक मण्डलमा टेरेन्स लुइससँगै नेपालका चर्चित किरण थापा र जेडी तमु रहनेछन्। नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरीमा सम्पन्न अडिसनबाट छनोट भएका उत्कृष्ट समूहहरूले फिनालेमा प्रतिस्पर्धा गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताले नेपाली नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


Tulac








