‘रोल नं. १’ हेर्न अब आधा मूल्यको टिकट, विद्यार्थी र अभिभावकको मागपछि विशेष छुट
काठमाडौं । नेपाली शिक्षा प्रणालीका चुनौती र बालबालिकाको मानसिक अवस्थालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘रोल नं. १’ले दर्शकमाझ सकारात्मक चर्चा बटुलिरहेका बेला निर्माण कम्पनी ‘सेभेन सीज सिनेमा’ले टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
विद्यालय प्रशासन, विद्यार्थी तथा अभिभावकबाट आएको व्यापक मागलाई सम्बोधन गर्दै गरिएको यो निर्णयसँगै अब देशभरका फिल्म हलमा दर्शकले आधा मूल्यमा फिल्म हेर्न पाउने भएका छन् । निर्माण पक्षका अनुसार छुट सुविधा सबै दर्शकका लागि लागू हुनेछ ।
फिल्मले कक्षामा पहिलो हुनुपर्ने दबाब, उच्च अंकको प्रतिस्पर्धा, अभिभावकको अपेक्षा र त्यसबाट बालबालिकामा पर्ने मानसिक असरलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । यही कारण ‘रोल नं. १’लाई मनोरञ्जनसँगै चेतनामूलक फिल्मका रूपमा हेरिएको छ ।
शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले फिल्मलाई विद्यार्थी, अभिभावक र शिक्षकले एकपटक अवश्य हेर्नुपर्ने कृतिका रूपमा सिफारिस गरेका छन् । पछिल्लो समय विभिन्न विद्यालयहरूले सामूहिक रूपमा शो बुक गरेर विद्यार्थीलाई फिल्म देखाउन थालेका छन् ।
निर्माण पक्षले टिकटमा गरिएको विशेष छुटले अझ धेरै दर्शकसम्म फिल्मको सन्देश पुर्याउने विश्वास लिएको छ । पारिवारिक सम्बन्ध, अभिभावकको संघर्ष र बालमनोविज्ञानलाई समेटिएको ‘रोल नं. १’ अहिले सपरिवार हेर्न मिल्ने सशक्त सामाजिक फिल्मका रूपमा चर्चामा छ ।


Tulac








