काठमाडौं । आदिवासी जनजाति समुदायका भाषा, संस्कृति र जीवनशैलीलाई केन्द्रमा राखेर आयोजित आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न भएको छ । महोत्सवको समापन समारोहमा उत्कृष्ट फिल्म, कलाकार तथा चलचित्रकर्मीलाई विभिन्न ११ विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
मंगलबार साँझ सम्पन्न महोत्सवमा लिम्बु भाषाको फिल्म रीत ले पब्लिक च्वाइस अवार्ड जित्दा गुरुङ भाषाको ङोल्स्यो रामरानी उत्कृष्ट कथानक फिल्म घोषित भयो । सोही फिल्मका लेखक विवेक गुरुङ उत्कृष्ट पटकथा विधाबाट पुरस्कृत भए ।
उत्कृष्ट निर्देशनतर्फ ‘रीत’ का निर्देशक दिनेश लिङ्देन सम्मानित भए । अभिनयतर्फ मगर भाषाको फिल्म दिलसरा का अभिनेता कल्याण रानामगर उत्कृष्ट अभिनेता घोषित भए भने नेवारी भाषाको फिल्म स्वयनगु की भिन्तुना श्रेष्ठ उत्कृष्ट अभिनेत्री चुनिइन् ।
यसैगरी तामाङ चलचित्र ह्याङ तामाङ का छायाँकार सूर्य लामा ले उत्कृष्ट छायाङ्कन अवार्ड प्राप्त गरे । जुरी अवार्ड राजवंशी वृत्तचित्र विराटनगरके प्राचीन राजवंशी लाई प्रदान गरियो ।
तामाङ लघु चलचित्र दुखला ग्यम ले इन्करेजमेन्ट अवार्ड प्राप्त गर्दा मगर लघु चलचित्र लाहुरेनी उत्कृष्ट लघु चलचित्र घोषित भयो । त्यस्तै मगर वृत्तचित्र आग्रे ले उत्कृष्ट वृत्तचित्र अवार्ड हात पार्यो ।
कार्यक्रमका प्रमुख अतिथि राम मादेन ले विजेता कलाकार, चलचित्रकर्मी तथा फिल्महरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
चलचित्र विकास बोर्ड को सभाहलमा जेठ १७ गतेदेखि सुरु भएको महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, सांस्कृतिक झाँकी तथा विभिन्न जातजातिका परम्परागत खानाका स्टलसमेत आकर्षणका रूपमा रहेका थिए । महोत्सवले आदिवासी जनजाति समुदायका भाषा, कला र संस्कृतिलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकको भनाइ छ ।