प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’को अन्तर्राष्ट्रिय बजारमा आकर्षण, बेलायत र हङकङमा प्रदर्शन अधिकार बिक्री

प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’को अन्तर्राष्ट्रिय बजारमा आकर्षण, बेलायत र हङकङमा प्रदर्शन अधिकार बिक्री
प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’को अन्तर्राष्ट्रिय बजारमा आकर्षण, बेलायत र हङकङमा प्रदर्शन अधिकार बिक्री

काठमाडौं । निर्देशक माओत्से गुरुङको नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ। आगामी भदौ २६ गते हरितालिका तीजको अवसर पारेर नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको बेलायत र हङकङका लागि वितरण अधिकार अग्रिम रूपमा बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।

फिल्मको ट्रेलर, टिजर वा आधिकारिक पोस्टरसम्म सार्वजनिक नभइसकेको अवस्थामा विदेशमा वितरण अधिकार बिक्री हुनु नेपाली चलचित्र क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। निर्देशक गुरुङले फिल्मप्रति अन्तर्राष्ट्रिय बजारमा देखिएको चासोले निर्माण टिमलाई थप उत्साहित बनाएको बताएका छन्।

उनका अनुसार बेलायतमा फिल्मको वितरण अधिकार सपन इन्टरटेन्टमेन्ट लिमिटेडले खरिद गरेको छ भने हङकङमा मेन ड्रागन लिमिटेडमार्फत प्रदर्शन गरिनेछ। विदेशस्थित नेपाली समुदायमाझ नेपाली चलचित्रप्रतिको बढ्दो आकर्षणका कारण फिल्मले प्रदर्शनअघि नै राम्रो बजार पाउन थालेको निर्माण पक्षको विश्वास छ।

‘पेन्सन पट्टा’ले लोभी स्वभावको एक युवकको जीवनमा आउने परिवर्तन र उसले कसरी उदार तथा दानी व्यक्तित्वको रूप लिन्छ भन्ने विषयलाई रोचक ढंगले प्रस्तुत गर्नेछ। सामाजिक सन्देश र मनोरञ्जनलाई एकसाथ समेट्ने प्रयास गरिएको फिल्मले दर्शकलाई फरक स्वादको कथा दिने अपेक्षा गरिएको छ।

फिल्ममा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा लोकप्रिय कलाकारहरूको बलियो उपस्थिति रहेको छ। दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सोल गुरुङ, राज थापा काउचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिबी गुरुङ तथा प्रतिक्षा गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

‘माओत्से गुरुङ फिल्म्स’को ब्यानरमा निर्माण भएको यस फिल्ममा मीन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको छ। डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा आबद्ध छन्।

प्राविधिक पक्षमा पनि फिल्मलाई विशेष ध्यान दिइएको निर्माण टिमले जनाएको छ। सुशन प्रजापतिले छायांकन गरेको फिल्ममा सुरज तमु कास्टिङ निर्देशक रहेका छन् भने मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले संगीत दिएका छन्।

‘दयारानी’पछि निर्देशक माओत्से गुरुङको अर्को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘पेन्सन पट्टा’ले कथावस्तु, कलाकार चयन र अन्तर्राष्ट्रिय बजारबाट प्राप्त प्रारम्भिक प्रतिक्रियाका कारण प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता बढाएको छ। निर्माण पक्षले आगामी दिनमा फिल्मका प्रचार सामग्री सार्वजनिक गर्दै दर्शकको उत्साहलाई अझ बढाउने तयारी गरेको जनाएको छ।

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनको तयारीमा रहेको ‘पेन्सन पट्टा’ले प्रदर्शनपछि कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो अहिलेदेखि नै चलचित्रवृत्तमा देखिन थालेको छ।