भदौ १२ मा प्रदर्शन हुने ‘मास्टर्नी’, रहस्य र सस्पेन्सले भरिएको कथासहित दर्शकमाझ आउने

भदौ १२ मा प्रदर्शन हुने ‘मास्टर्नी’, रहस्य र सस्पेन्सले भरिएको कथासहित दर्शकमाझ आउने
भदौ १२ मा प्रदर्शन हुने ‘मास्टर्नी’, रहस्य र सस्पेन्सले भरिएको कथासहित दर्शकमाझ आउने

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको अवधारणा, कथा तथा निर्माणमा तयार भएको सस्पेन्स थ्रिलर नेपाली फिल्म ‘मास्टर्नी’ आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। रहस्य, अपराध र रोमाञ्चक कथावस्तुमा आधारित फिल्मले दर्शकमाझ नयाँ स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

निर्माण टिमले सार्वजनिक गरेको जानकारीअनुसार फिल्मको कथा एउटा पेचिलो हत्याको रहस्य सुल्झाउने घटनाक्रम वरिपरि केन्द्रित छ। प्रियंका कार्कीको कथालाई सान बस्न्यातले पटकथामा रूपान्तरण गरेका हुन्।

फिल्ममा प्रियंका कार्कीसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी र अनुपविक्रम शाहीलगायत चर्चित कलाकारहरूको अभिनय रहेको छ। अनुभवी कलाकारहरूको उपस्थितिले फिल्मप्रति दर्शकको चासो थप बढाएको निर्माण पक्षको विश्वास छ।

भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको फिल्मले प्राविधिक तथा प्रस्तुति पक्षमा पनि विशेष ध्यान दिएको बताइएको छ। फिल्मको देशव्यापी वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

पछिल्लो समय नेपाली दर्शकमाझ सस्पेन्स र थ्रिलर विधाका फिल्मप्रति आकर्षण बढिरहेका बेला ‘मास्टर्नी’ले पनि फरक कथावस्तु र रहस्यमय प्रस्तुतीमार्फत दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचार–प्रसारका गतिविधिलाई तीव्र बनाउने तयारी गरेको जनाएको छ। रहस्यपूर्ण कथासँगै स्टार कलाकारहरूको अभिनयले सजिएको ‘मास्टर्नी’ भदौ महिनाको प्रतीक्षित नेपाली फिल्ममध्ये एक बन्ने अनुमान गरिएको छ।