बक्स अफिसमा ‘मितज्यू’ अगाडि, ‘काजी’को कमाइ ४० लाखमै सीमित
काठमाडौं । एकै मितिबाट प्रदर्शनमा आएका नेपाली चलचित्र ‘मितज्यू’ र ‘काजी’मध्ये ‘मितज्यू’ले घरेलु बक्स अफिसमा उल्लेख्य अग्रता बनाएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस तथ्यांकअनुसार ‘मितज्यू’ले एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्दा ‘काजी’को व्यापार ४० लाख रुपैयाँमै सीमित भएको छ ।
बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबार राति १२ बजेसम्मको रिपोर्टअनुसार दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर अभिनित ‘मितज्यू’ले १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा चलचित्रलाई ४१ हजार २४८ दर्शकले हेरेका छन् ।
यता विपिन कार्की र केकी अधिकारी अभिनित ‘काजी’ले ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस आम्दानी गरेको छ । चलचित्रलाई हालसम्म १३ हजार ७ दर्शकले हेरेका छन् ।
दुवै चलचित्र गत जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आएका हुन् । प्रदर्शनको सुरुआती चरणमै ‘मितज्यू’ले दर्शक उपस्थितिमा समेत बलियो पकड देखाउँदा ‘काजी’ भने अपेक्षाअनुसारको व्यापार गर्न नसकेको देखिएको छ ।


Tulac








