फिल्म ‘चिरञ्जिवी भवः’को सेटमा विभेद भएको काजल कर्णको आरोप, निर्माण टोली मौन

फिल्म ‘चिरञ्जिवी भवः’को सेटमा विभेद भएको काजल कर्णको आरोप, निर्माण टोली मौन
फिल्म ‘चिरञ्जिवी भवः’को सेटमा विभेद भएको काजल कर्णको आरोप, निर्माण टोली मौन

काठमाडौं । मोडल तथा अभिनेत्री काजल कर्ण ले नेपाली फिल्म ‘चिरञ्जिवी भवः’ को छायाङ्कनका क्रममा आफूले जातीय, रंगभेदी र मानसिक दुर्व्यवहारको सामना गर्नुपरेको आरोप लगाएकी छन्। शुक्रबार आफ्नो आधिकारिक फेसबुकमार्फत लामो स्ट्याटस सार्वजनिक गर्दै उनले फिल्मको सेटमा मधेशी भएकै कारण अपमानित गरिएको दाबी गरेकी हुन्।

३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी कर्णले हरिवंश आचार्य र करिश्मा मानन्धरजस्ता वरिष्ठ कलाकारसँग काम गर्ने अवसर पाउँदा सुरुमा उत्साहित भए पनि छायाङ्कन स्थलमा पुगेपछि आफूले अपमान र विभेदको सामना गर्नुपरेको बताएकी छन्।

कर्णका अनुसार मेकअपका क्रममा एक मेकअप आर्टिस्टले जानीजानी उनको अनुहारमा गाढा मेकअप लगाइदिँदै “तिमी त आश्रममा काम गर्ने पात्र हौ, तिम्रो मेकअप यस्तै हुन्छ” भनेका थिए। अर्का एक मेकअप आर्टिस्टले तराई समुदायलाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरेको र सेटभरि “ओई मधेसेनी” भनेर सम्बोधन गर्दै उनको रंग र पहिचानको उपहास गरिएको उनले उल्लेख गरेकी छन्।

उनले स्क्रिप्टमा नभएका फोहोर उठाउने र कुचो लगाउने दृश्य जबर्जस्ती गराइएको तथा दुई दिनसम्म कलाकारभन्दा मजदुरसरह व्यवहार गरिएको आरोप पनि लगाएकी छन्। साथै, यातायात, पोशाक र सुटिङ व्यवस्थापनमा पनि निर्माण पक्षले गैरजिम्मेवार व्यवहार गरेको उनको भनाइ छ।

कर्णले इटहरीमा भएको छायाङ्कनका क्रममा मुख्य अभिनेत्री प्रशंसा रायमाझी ले आफ्नो मेकअप रुममा बस्न नदिएको र सहायक निर्देशकले पनि अपमानजनक व्यवहार गरेको दाबी गरेकी छन्। उनका अनुसार सेटमा आफूलाई कलाकारका रूपमा नभई अवाञ्छित व्यक्तिजस्तै व्यवहार गरिएको थियो।

पारिश्रमिक लिन र छायाङ्कनका लागि इटहरी पुगेपछि भने आफूलाई कुनै जानकारी नै नदिई फिल्मबाट हटाइएको थाहा पाएको कर्णले बताएकी छन्। उनको स्थानमा अर्की कलाकारलाई लिइएको र पछि बाँकी पारिश्रमिकसमेत नदिइएको आरोप उनले लगाएकी छन्।

फेसबुक स्ट्याटसको अन्त्यमा कर्णले नेपाली फिल्म उद्योगभित्र अझै पनि जातीय तथा क्षेत्रीय विभेद कायम रहेको दाबी गर्दै मधेशी समुदायका कलाकारले सम्मानका साथ काम गर्न पाउनुपर्ने माग गरेकी छन्। उनले आफ्नो सपना कुनै भूमिका गुमाउँदैमा समाप्त नहुने उल्लेख गर्दै मधेशी छोरीहरूको सम्मान र अधिकारका लागि आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

यस विषयमा समाचार तयार पार्दासम्म फिल्म ‘चिरञ्जिवी भवः’ का निर्देशक, निर्माण टोली वा आरोप लागेका अन्य पक्षबाट सार्वजनिक प्रतिक्रिया आएको छैन।