चीनमा नेपाली चलचित्रको डेब्यु: ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले खोल्यो अन्तर्राष्ट्रिय बजारको नयाँ ढोका
काठमाडौँ । नेपाली चलचित्रलाई चीनको विशाल बजारसँग जोड्ने उद्देश्यसहित आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल–२०२६’ ले नेपाल–चीनबीचको सांस्कृतिक तथा चलचित्र सहकार्यलाई नयाँ उचाइमा पुर्याएको छ। चलचित्रकर्मीहरूले यस महोत्सवलाई नेपाली फिल्म उद्योगका लागि अन्तर्राष्ट्रिय बजार विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
फेस्टिभलको अनुभव सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपाल एआई फिल्म एलायन्स तथा एभरेस्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापा ले करिब तीन वर्षअघि चिनियाँ चलचित्रकर्मी ली होङ्गशु ले नेपाली चलचित्रलाई चीनमा प्रदर्शन गर्ने प्रस्ताव राखेपछि यो अभियान सुरु भएको जानकारी दिए।
उनका अनुसार नेपालबाट पठाइएका २३ चलचित्रमध्ये ११ वटा प्रारम्भिक छनोटमा परेका थिए भने चिनियाँ सेन्सर प्रक्रिया पार गर्दै अन्ततः ‘एन्जिला’, छक्का पञ्जा ५, तेलभिसा, महाजात्रा, कबड्डी ४ र होस्टेल ३ प्रदर्शनका लागि छनोट भएका थिए।
चीनको छाङ्शा मा सात दिनसम्म सञ्चालन भएको महोत्सवमा यी चलचित्रहरू एकै समयमा पाँचवटा हलमा प्रदर्शन गरिएको थियो। नेपाली टोलीले यस अनुभवलाई नेपाली चलचित्र इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरेको छ।
महोत्सवमा चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेशराज दाहाल, निर्देशकहरू, निर्माता तथा कलाकारहरूको सहभागिता रहेको थियो। साथै सशस्त्र प्रहरी बलको सांस्कृतिक टोलीले नेपाली कला र संस्कृतिको प्रस्तुति दिएको थियो।
फेस्टिभलसँगै आयोजित ‘एआई फिल्म मेकिङ कन्फरेन्स’ लाई पनि विशेष उपलब्धिका रूपमा हेरिएको छ। अध्यक्ष थापाले चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा अग्रणी रहेको उल्लेख गर्दै चलचित्र निर्माणमा एआईको प्रयोग, प्रविधि आदानप्रदान र सहकार्यका नयाँ सम्भावना खुलाएको बताए।
महोत्सवका चिनियाँ अध्यक्ष जियाङ बोले ले सन् २०२१ मा सुरु भएको अवधारणाले दुई वर्षभन्दा बढीको तयारीपछि पूर्णता पाएको स्मरण गर्दै भविष्यमा नेपाल–चीन चलचित्र सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
चलचित्रकर्मीहरूका अनुसार ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल–२०२६’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउने मात्र होइन, दुई देशबीच सांस्कृतिक सम्बन्ध र चलचित्र उद्योगको सहकार्य विस्तार गर्ने नयाँ आधारसमेत तयार गरेको छ।


Tulac








