काठमाडौंमा सुरु भयो चिनियाँ चलचित्र महोत्सव, चार दिनसम्म उत्कृष्ट ६ फिल्म प्रदर्शन हुने

काठमाडौंमा सुरु भयो चिनियाँ चलचित्र महोत्सव, चार दिनसम्म उत्कृष्ट ६ फिल्म प्रदर्शन हुने
काठमाडौंमा सुरु भयो चिनियाँ चलचित्र महोत्सव, चार दिनसम्म उत्कृष्ट ६ फिल्म प्रदर्शन हुने

काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित छ चिनियाँ चलचित्रहरूको विशेष प्रदर्शन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ मङ्गलबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल र चीनबीच सांस्कृतिक तथा चलचित्र क्षेत्रको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ।

ठमेलस्थित छाया सेन्टरमा आयोजित कार्यक्रमको उद्घाटन सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ प्रदर्शनसँगै गरिएको हो। चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान, ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन तथा विभिन्न चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्षले यस्ता गतिविधिले नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले चिनियाँ बजारमा नेपाली चलचित्रको पहुँच विस्तार गर्न समेत यस्ता कार्यक्रम उपयोगी हुने बताए।

मिनिस्टर काउन्सिलर चउ पानले चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई समाज, संस्कृति र जीवनशैली बुझ्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै दुई देशका जनताबीचको सम्बन्धलाई अझ नजिक बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

पहिलो दिन प्रदर्शन गरिएको ‘ट्रयाप्ड’ पछि निर्देशक सागर झानसँग दर्शक तथा सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। निर्देशक झानले फिल्म आफ्नो किशोरावस्थाका अनुभव र सम्झनाबाट प्रेरित भए पनि कथा पूर्ण रूपमा काल्पनिक रहेको बताए।

कार्यक्रमअन्तर्गत पहिलो दिन ‘ट्रयाप्ड’सँगै ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन गरिएको थियो। काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका कन्फुसियस इन्स्टिच्युटहरूको सहयोगमा सञ्चालन भइरहेको महोत्सवमा आगामी दिनमा पनि अन्य उत्कृष्ट चिनियाँ चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।