काठमाडौँ । नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ। गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै हालसम्म करिब ६ करोड रुपैयाँको कारोबार गरेको निर्माण पक्षले जनाएको छ।
प्रदर्शनअघि र प्रदर्शनका क्रममा विभिन्न कानुनी विवादमा तानिएको चलचित्रले दर्शकबाट भने सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। चौथो सातासम्म पनि चलचित्रका कलाकार तथा निर्माण टिम देशका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया संकलन गरिरहेका छन्।
निर्देशक यम थापा को लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।
यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदी ले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका छन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन्। सकारात्मक ‘वर्ड अफ माउथ’ र दर्शकको साथका कारण ‘लालीबजार’ चौथो सातासम्म पनि हलमा टिक्न सफल भएको निर्माण टिमको दाबी छ। नेपाली चलचित्र बजारमा प्रतिस्पर्धाबीच चलचित्रले निरन्तर दर्शक तानिरहेको बताइएको छ।