असामान्य जोडीको संघर्ष र शिक्षाको सन्देश बोकेको ‘गौँथली’ सार्वजनिक तयारीमा

असामान्य जोडीको संघर्ष र शिक्षाको सन्देश बोकेको ‘गौँथली’ सार्वजनिक तयारीमा
असामान्य जोडीको संघर्ष र शिक्षाको सन्देश बोकेको ‘गौँथली’ सार्वजनिक तयारीमा

काठमाडौँ । असामान्य वैवाहिक सम्बन्ध, सामाजिक चुनौती र शिक्षाको महत्वलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘गौँथली’ दर्शकमाझ आउने तयारीमा रहेको छ। चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यले फरक विषयवस्तु प्रस्तुत गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ।

सार्वजनिक सामग्रीमा अभिनेता अरुण क्षेत्री असामान्य व्यवहार देखाउने पात्रका रूपमा प्रस्तुत भएका छन् भने उनीसँग कम उमेरकी युवतीको विवाह भएको देखाइएको छ। उक्त युवतीको भूमिकामा सिम्रन खड्का देखिएकी छन्।

चलचित्रले कम उमेरमै विवाह गर्न बाध्य भएकी युवती र असामान्य व्यवहार भएका श्रीमान्बीचको सम्बन्ध, संघर्ष र जीवनका उतारचढावलाई चित्रण गरेको अभिनेता क्षेत्रीले बताए। उनका अनुसार चलचित्रले शिक्षाले व्यक्तिको जीवन र पारिवारिक सम्बन्धमा पार्ने सकारात्मक प्रभावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ। निर्देशक कपिल रिजाल ले ‘गौँथली’ घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक कथा भएको बताउँदै चलचित्रमार्फत परिवारको महत्व र शिक्षाको आवश्यकता उजागर गर्न खोजिएको बताए।

भोला रिजाल को कथामा आधारित चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको पटकथा निर्देशक कपिल रिजाल स्वयंले लेखेका हुन् भने संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका छन्। सुमन गिरी र कपिल रिजालको संयुक्त निर्माण रहेको चलचित्रमा शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतमप्रशान्त सिवाकोटी को संगीत रहेको छ। साथै पाश्र्वसंगीत एलिस कार्की ले तयार गरेका छन् भने सम्पादन मिलन श्रेष्ठ ले गरेका छन्। सामाजिक सन्देश र भावनात्मक कथावस्तु बोकेको ‘गौँथली’ले परिवार, शिक्षा र मानवीय सम्बन्धका विविध आयामलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ।