‘जारी २’ अब विश्वभर अनलाइन स्ट्रिमिङमा, सिनेमाघर एपमार्फत दर्शकमाझ
काठमाडौँ । हलमा सफल प्रदर्शनपछि निर्देशक उपेन्द्र सुब्बा को चर्चित नेपाली फिल्म जारी २ अब ओटीटी प्लेटफर्म सिनेमाघर मार्फत विश्वभरका दर्शकका लागि उपलब्ध भएको छ।
सिनेमाघरले सार्वजनिक गरेको जानकारीअनुसार दर्शकले फिल्मलाई एचडी क्वालिटीमा १९९ रुपैयाँ तथा फोरके (4K) क्वालिटीमा २९९ रुपैयाँ तिरेर हेर्न सक्नेछन्। प्लेटफर्म गुगल प्ले स्टोर, एप्पल एप स्टोर, स्मार्ट टिभी तथा वेब ब्राउजरमार्फत सहज रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति र परम्परागत ‘जारी प्रथा’लाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जारी २’ ले स्थानीय जीवनशैली, संस्कार तथा सांस्कृतिक पहिचानलाई पर्दामा उतारेको छ। बाँसुरी फिल्म्स को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरूना मगर र विजय बराल को मुख्य अभिनय रहेको छ।
फिल्ममा लिम्बु समुदायको संस्कृति, च्याब्रुङ नृत्य तथा पुरानो समयको सामाजिक परिवेशलाई आकर्षक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
नेपाली चलचित्रलाई विश्वभर रहेका दर्शकमाझ पुर्याउने अभियानमा सक्रिय सिनेमाघर प्लेटफर्ममा ‘जारी २’ सँगै १२ गाउँ, पिताम्बर र गाउँ आएको बाटो लगायतका नेपाली फिल्महरू पनि उपलब्ध रहेका छन्।
ओटीटीमा रिलिज भएसँगै ‘जारी २’ ले अब स्वदेशसँगै विदेशमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पनि आफ्नो पहुँच थप विस्तार गर्ने अपेक्षा गरिएको छ।


Tulac








