डीप फ्रिज’ बोकेर पहाड उक्लिँदा गाउँमा हलचल, तिहारमा आउँदै डार्क कमेडी फिल्म ‘जिरो डिग्री

डीप  फ्रिज’ बोकेर पहाड उक्लिँदा गाउँमा हलचल, तिहारमा आउँदै डार्क कमेडी फिल्म ‘जिरो डिग्री
डीप  फ्रिज’ बोकेर पहाड उक्लिँदा गाउँमा हलचल, तिहारमा आउँदै डार्क कमेडी फिल्म ‘जिरो डिग्री

सुनसरी । विकट पहाडी गाउँ, विदेशिएका सन्तान, गाउँमै आमाबुवाको मृत्यु अनि शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर उकालो लाग्नुपर्ने बाध्यता । यही असामान्य र रहस्यमय कथावस्तुमा आधारित डार्क कमेडी फिल्म ‘जिरो डिग्री’ आगामी तिहारमा प्रदर्शनमा आउने भएको छ ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको ‘फर्स्ट लुक’ भिडियो सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक भिडियोले दर्शकमाझ फिल्मप्रति उत्सुकता थप बढाएको छ ।

फिल्ममा अभिनेता विजय बराल ‘पुन्य चौलागाईँ’ नामक चतुर वडा अध्यक्षको भूमिकामा देखिएका छन् । चस्मा, बाक्लो जुँगा, सुट र ढाका टोपीमा प्रस्तुत उनको लुक्सले विशेष चर्चा बटुलेको छ । भिडियोमा एकातर्फ ‘भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको पोस्टर टाँसिएको देखिन्छ भने त्यही पोस्टरअगाडि वडा अध्यक्ष पुन्य चौलागाईँ पैसा बुझिरहेको दृश्यले नेपाली राजनीति र नेताहरूको दोहोरो चरित्रमाथि व्यङ्ग्य प्रहार गरेको संकेत गर्छ ।

“जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ” र “यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो” जस्ता संवादले पात्रको अवसरवादी शैली झल्काउँछन् । त्यस्तै, सेतो घोडामा दुईवटा स्ट्यान्ड फ्यान बोकेर हिँडेको दृश्य र गाउँलेहरूले पहाडी बाटोमा ठूलो काठको बाकस बोकेको दृश्यले फिल्मलाई थप रहस्यमय बनाएको छ ।

हालैको सफल फिल्म ‘बेहुली फ्रम मेघौली’ का निर्देशकद्वय सजन काफ्ले र आकास बरालले यस फिल्मको संयुक्त निर्देशन तथा पटकथा लेखन गरेका हुन् । फिल्ममा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइलीलगायत कलाकारको अभिनय रहेको छ ।

कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर क्षेत्रमा छायांकन गरिएको फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन् । छायांकन निशाल पौडेल, सम्पादन चानस पुन मगर, रङ्ग संयोजन राजेन्द्र मोक्तान तथा सङ्गीत अङ्कित बाबु अधिकारीले गरेका छन् ।

तिहारको बिदालाई लक्षित गर्दै निर्माण गरिएको ‘जिरो डिग्री’ लाई काठमाडौं उपत्यकाभित्र डि सिएन र बाहिर कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएका छन् । फरक कथावस्तु र व्यङ्ग्यात्मक प्रस्तुतिका कारण फिल्मले नेपाली बक्स अफिसमा राम्रो प्रभाव छाड्ने अपेक्षा गरिएको छ ।