विवादबीच पनि चम्कियो लालीबजार, व्यापार ५ करोड नाघ्यो

विवादबीच पनि चम्कियो लालीबजार, व्यापार ५ करोड नाघ्यो
विवादबीच पनि चम्कियो लालीबजार, व्यापार ५ करोड नाघ्यो

काठमाडौं । चलचित्र विकास बोर्ड को तथ्यांकअनुसार सामाजिक कथावस्तुमा आधारित नेपाली फिल्म लालीबजार ले घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गर्दै ५ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ । प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न लागेको फिल्मले शुक्रबार बिहानसम्म देशभरबाट ५ करोड १५ लाख १८ हजार ९७० रुपैयाँ ग्रस कमाइ गरेको बोर्डले जनाएको छ ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्री ले सामाजिक सञ्जालमार्फत फिल्मको कुल ग्रस कलेक्सन ५ करोड २५ लाख रुपैयाँ नाघिसकेको जानकारी दिएका छन् । सुरुआती दिनमा अपेक्षाकृत कमजोर व्यापार गरेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएसँगै पछिल्ला दिनमा लगातार राम्रो कमाइ गरिरहेको छ । मंगलबार मात्रै फिल्मले देशभरबाट करिब ४० लाख रुपैयाँ ग्रस संकलन गरेको विवरण सार्वजनिक भएको छ ।

कानुनी विवाद र विभिन्न विरोधका बीच पनि फिल्मले बलियो ‘वर्ड अफ माउथ’को साथ पाउँदै व्यापारमा निरन्तर उकालो यात्रा तय गरिरहेको छ । शुक्रबारदेखि फिल्म प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ ।

यम थापा को निर्देशनमा बनेको फिल्मले वादी समुदायकी एक महिलाले आफ्नो पहिचान र सन्तानको उज्ज्वल भविष्यका लागि गर्ने संघर्षको कथा प्रस्तुत गर्छ ।