आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक, कलाकार बन्ने संघर्षको भावनात्मक कथा

आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक, कलाकार बन्ने संघर्षको भावनात्मक कथा
आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक, कलाकार बन्ने संघर्षको भावनात्मक कथा

काठमाडौँ । अभिनेता जितु नेपाल को निर्माण तथा मुख्य अभिनय रहेको चलचित्र आइ एम जीत बहादुर को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर सहर पुगेका एक युवाको कलाकार बन्ने संघर्ष, चुनौती र सफलताको यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।

सार्वजनिक ट्रेलरमा जितु नेपाल फरक भूमिकामा देखिएका छन्। उनले अभिनय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न संघर्षरत युवाको चरित्र निर्वाह गरेका छन्। चलचित्रले सपनाको खोजीमा लागेका युवाले भोग्ने उतारचढाव र जीवन संघर्षलाई केन्द्रमा राखेको संकेत ट्रेलरले दिएको छ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोष को निर्देशन रहेको चलचित्र आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा जितु नेपालको जोडीका रूपमा वर्षा राउत देखिएकी छन्। साथै प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा, नीरज नेपालअन्सु महर्जन लगायत कलाकारको अभिनय रहेको छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र नीरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह-निर्माताका रूपमा रहेका छन्। चलचित्रको छायांकन भारतीय सिनेमाटोग्राफर अरविन्द ले गरेका हुन् भने पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम भारतमै सम्पन्न गरिएको छ।

आरआर फिल्म्सले वितरण गर्ने ‘आइ एम जीत बहादुर’ अभिनेता जितु नेपालको तीन दशकभन्दा लामो कलाकारिता यात्रामा विशेष चलचित्रका रूपमा हेरिएको छ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकमाझ उत्सुकता समेत बढेको देखिएको छ।