साउन २९ मा प्रदर्शन हुने ‘लज्जावती’को छायांकन सम्पन्न, एकल प्रदर्शनको अवसर पाउने सम्भावना

साउन २९ मा प्रदर्शन हुने ‘लज्जावती’को छायांकन सम्पन्न, एकल प्रदर्शनको अवसर पाउने सम्भावना
साउन २९ मा प्रदर्शन हुने ‘लज्जावती’को छायांकन सम्पन्न, एकल प्रदर्शनको अवसर पाउने सम्भावना

काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ। ४५ दिनको निरन्तर छायांकनपछि निर्माण टिमले फिल्मको सुटिङ सकिएको घोषणा गर्दै आगामी साउन २९ गतेलाई देशव्यापी प्रदर्शन मिति तय गरेको जनाएको छ।

निर्माण पक्षका अनुसार काठमाडौंको धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य छायांकनसँगै फिल्मको सम्पूर्ण सुटिङ सम्पन्न भएको हो। अब फिल्म पोस्ट–प्रोडक्सनअन्तर्गत सम्पादन, डबिङ तथा अन्य प्राविधिक काममा केन्द्रित हुने निर्माण टिमले जनाएको छ।

हालसम्म साउन २९ गतेका लागि अन्य कुनै नेपाली फिल्मले औपचारिक रूपमा प्रदर्शन मिति घोषणा नगरेकाले ‘लज्जावती’ले बक्स अफिसमा एकल प्रदर्शनको अवसर पाउने सम्भावना देखिएको छ। यसले फिल्मलाई दर्शकमाझ पुग्न थप सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

आहा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको देशव्यापी वितरणको जिम्मेवारी कुबेर सिने डिस्ट्रिब्युसनले लिएको छ। फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारहरूको अभिनय रहेको छ।

छायांकन सम्पन्न भएसँगै निर्माण टिमले प्रचार–प्रसारका गतिविधिलाई समेत तीव्रता दिने तयारी गरेको जनाएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मप्रति दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा गरिएको छ।