‘रोल नं १’ ले उठायो शिक्षा र अभिभावकीय दबाबको सवाल, विशेष प्रदर्शनीपछि सकारात्मक प्रतिक्रिया

‘रोल नं १’ ले उठायो शिक्षा र अभिभावकीय दबाबको सवाल, विशेष प्रदर्शनीपछि सकारात्मक प्रतिक्रिया
‘रोल नं १’ ले उठायो शिक्षा र अभिभावकीय दबाबको सवाल, विशेष प्रदर्शनीपछि सकारात्मक प्रतिक्रिया

काठमाडौं । बालबालिकामाथि हुने शैक्षिक दबाब, अभिभावकको अपेक्षा र सीपमुखी शिक्षाको आवश्यकतालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘रोल नं १’ले दर्शक तथा समीक्षकहरूको सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्मले शिक्षा प्रणालीको यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गरेको भन्दै प्रशंसा पाएको हो।

निर्माण संस्था सेभेन सिज सिनेमाले सोमबार काठमाडौंमा आयोजना गरेको विशेष प्रदर्शनीमा फिल्म हेरेपछि कलाकार, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले ‘रोल नं १’लाई सन्देशमूलक र समसामयिक फिल्मको रूपमा व्याख्या गरेका छन्।

फिल्मले कक्षाकोठामा सधैं उत्कृष्ट नतिजा ल्याउनुपर्ने दबाब, अभिभावकको आकांक्षा, बालमनोविज्ञान तथा सीप र रुचिअनुसारको शिक्षाको महत्वलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। विशेषगरी आमा–छोराको सम्बन्ध, बुबाको सपनाको भार बोकेको बालकको संघर्ष र पारिवारिक परिवेशले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया सहभागीहरूले दिएका छन्।

विशेष प्रदर्शनीपछि प्रतिक्रिया दिँदै अभिनेता जितु नेपालले शिक्षालाई केवल अंक र नतिजामा सीमित गर्न नहुने सन्देश फिल्मले प्रभावकारी रूपमा दिएको बताए। उनले जीवनमा सफलता हासिल गर्न सीप र क्षमताको विकास पनि उत्तिकै महत्वपूर्ण हुने विषय फिल्मले उजागर गरेको उल्लेख गरे।

हास्य अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्मलाई मनोरञ्जनसँगै सिकाइ दिने कृतिका रूपमा चित्रण गर्दै दुर्गम क्षेत्रको शिक्षा अवस्था र अभिभावकको संघर्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको बताए।

अभिनेत्री सञ्चिता लुइँटेलले पनि फिल्मले परम्परागत शिक्षाभन्दा सीप र व्यवहारिक ज्ञानको महत्वलाई प्राथमिकता दिएको उल्लेख गर्दै अभिभावक र विद्यार्थी दुवैले हेर्नुपर्ने फिल्म भएको प्रतिक्रिया दिइन्। शिक्षा, बालमनोविज्ञान र पारिवारिक सम्बन्धजस्ता विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘रोल नं १’ले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्दै चर्चा बटुलिरहेको छ।