काठमाडौंमा पाँचदिने अन्तर्राष्ट्रिय संगीत महोत्सव हुँदै, विश्वका संगीतकर्मी एउटै मञ्चमा
नेपाली संगीतको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पस र रामचन्द्र मन्दिरले संयुक्त रूपमा पाँचदिने अन्तर्राष्ट्रिय संगीत महोत्सव आयोजना गर्ने भएका छन्। जेठ ३० गतेदेखि सुरु हुने महोत्सवमा नेपालसहित विभिन्न देशका संगीतविद्, अनुसन्धानकर्ता र कलाकारको सहभागिता रहनेछ।
नेपालको संगीत शिक्षा, अनुसन्धान र सांस्कृतिक आदानप्रदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्यसहित राजधानी काठमाडौंमा पाँचदिने अन्तर्राष्ट्रिय संगीत महोत्सव आयोजना हुने भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला क्याम्पस र बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिरको संयुक्त आयोजनामा हुने महोत्सव जेठ ३० गतेदेखि पाँच दिनसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य दक्षिण एसिया तथा विश्वका विभिन्न देशमा प्रचलित सांगीतिक परम्परा, परम्परागत वाद्यवादन, संगीत शिक्षा तथा आधुनिक संगीत प्रवृत्तिबारे अन्तर्राष्ट्रिय संवाद र सहकार्यको वातावरण निर्माण गर्नु हो। संगीतलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई अध्ययन, अनुसन्धान, संस्कृति र पर्यटनसँग जोडिएको बहुआयामिक विषयका रूपमा प्रस्तुत गर्ने प्रयास महोत्सवले गर्नेछ।
महोत्सवअन्तर्गत शैक्षिक तथा सांगीतिक कार्यक्रमहरू समानान्तर रूपमा सञ्चालन गरिनेछन्। दिउँसोका सत्रहरूमा संगीतसम्बन्धी अनुसन्धानमूलक शोधपत्र प्रस्तुति, कार्यशाला, अन्तरक्रियात्मक छलफल तथा प्यानल बहस आयोजना गरिनेछ। यी कार्यक्रमहरू ललितकला क्याम्पसमा हुनेछन् भने साँझका सांगीतिक प्रस्तुति बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिर परिसरमा आयोजना गरिनेछन्।
आयोजकले जनाएअनुसार संगीत शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, त्यसका अवसर र चुनौती, नेपालमा बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) तथा प्रतिलिपि अधिकारका सवाल, सांगीतिक सिर्जनाको संरक्षण, पर्यटन प्रवर्द्धनमा संगीतको भूमिका र बदलिँदो विश्व संगीत बजारका चुनौतीबारे गहन छलफल हुनेछन्। यसले संगीतकर्मी, विद्यार्थी, अनुसन्धानकर्ता तथा नीति निर्माताबीच विचार आदानप्रदानको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
महोत्सव संयोजक तथा ललितकला क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण खरेलका अनुसार नेपालमा यस प्रकृतिको अन्तर्राष्ट्रिय संगीत महोत्सव सम्भवतः पहिलोपटक आयोजना हुन लागेको हो। उनका अनुसार कार्यक्रमले नेपाली संगीतकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिनुका साथै विदेशी संगीतविद्हरूसँग सहकार्य र अनुभव आदानप्रदानको वातावरण निर्माण गर्नेछ।
महोत्सवमा नेपालसहित भारत, चीन, अमेरिका, बंगलादेश र श्रीलंकाका संगीतविद्, कलाकार तथा अनुसन्धानकर्ताको सहभागिता रहनेछ। विभिन्न देशबाट आउने सहभागीहरूले आ–आफ्ना सांगीतिक परम्परा, अध्ययन तथा अनुसन्धानका अनुभव प्रस्तुत गर्नेछन्। यसले नेपाली संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यास र नयाँ प्रविधिसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साँझका सत्रहरूमा शास्त्रीय, लोक, समकालीन तथा प्रयोगात्मक संगीतका विविध प्रस्तुति रहनेछन्। आयोजकका अनुसार महोत्सवमा रमेश पोखरेल, झोउ जियान, चन्दन विश्वकर्मा, ध्रुवेशचन्द्र रेग्मी, नागेन्द्रविक्रम राई, लबोनी चक्रवर्ती, सीता थापा, यतिराज अधिकारी, अग्रज भट्टराईलगायत कलाकारले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। विभिन्न सांगीतिक शैली र संस्कृतिको संगम हुने भएकाले महोत्सव संगीतप्रेमीका लागि विशेष आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ।
संगीत क्षेत्रका जानकारहरूका अनुसार यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाली संगीतलाई विश्व समुदायसँग जोड्ने मात्र होइन, संगीत शिक्षाको गुणस्तर सुधार, अनुसन्धानको दायरा विस्तार तथा नयाँ पुस्ताका संगीतकर्मीलाई अन्तर्राष्ट्रिय अभ्याससँग परिचित गराउन पनि महत्वपूर्ण भूमिका खेल्छन्।
महोत्सवले नेपाली संगीतको मौलिकता र विविधतालाई विश्वमञ्चमा प्रस्तुत गर्नुका साथै सांस्कृतिक कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकले संगीत, संस्कृति र शिक्षामा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी भई ज्ञान, अनुभव र मनोरञ्जनको अद्वितीय अवसर उपयोग गर्न आग्रह गरेका छन्।


Tulac








