क्वालालम्पुरमा पहिलोपटक गुञ्जियो नेपथ्य, हजारौं नेपाली दर्शकमाझ भव्य प्रस्तुति

क्वालालम्पुरमा पहिलोपटक गुञ्जियो नेपथ्य, हजारौं नेपाली दर्शकमाझ भव्य प्रस्तुति
क्वालालम्पुरमा पहिलोपटक गुञ्जियो नेपथ्य, हजारौं नेपाली दर्शकमाझ भव्य प्रस्तुति

काठमाडौं । नेपाली लोकरक ब्यान्ड नेपथ्य ले मलेसियाको राजधानी Kuala Lumpur मा पहिलोपटक भव्य सांगीतिक प्रस्तुति दिएको छ । आफ्नो साढे तीन दशक लामो सांगीतिक यात्रामा पहिलोपटक मलेसियामा आयोजित कन्सर्टमार्फत ब्यान्डले प्रवासी नेपाली दर्शकलाई संगीतसँगै देशप्रेमको भावनाले पनि जोडेको छ ।

पर्यटकीय क्षेत्र Bukit Bintang स्थित ‘जेप हल’मा आइतबार साँझ सम्पन्न कन्सर्टको सुरुवात ब्यान्डले आफ्नो चर्चित गीत कोशीको पानी बाट गरेको थियो । प्रस्तुति अवधिभर ब्यान्डका प्रमुख गायक अमृत गुरुङ ले दर्शकसँग संवाद गर्दै नेपालको संस्कृति, विविधता र देशप्रेमका सन्देश प्रवाह गरेका थिए ।

कार्यक्रममा मलेसियासहित सिङ्गापुरलगायत विभिन्न देशबाट आएका नेपाली दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । दर्शकहरूले नेपथ्यका पुराना तथा लोकप्रिय गीतमा साथ दिँदै उत्साहपूर्ण सहभागिता जनाएका थिए ।

कन्सर्टमा मुदिता बज्राचार्य समेत सहभागी भएकी थिइन् । उनले विदेशी भूमिमा नेपाली संगीत र संस्कृतिको सशक्त प्रस्तुति देख्न पाउँदा गर्व महसुस भएको बताएकी छन् । नेपथ्यका लागि मलेसिया सांगीतिक प्रस्तुति दिएको २०औँ देश बनेको छ भने क्वालालम्पुर ब्यान्डले प्रस्तुति दिएको ५८औँ अन्तर्राष्ट्रिय सहर हो । दुई घण्टा लामो कन्सर्टको समापन चर्चित गीत रातो र चन्द्रसूर्य मार्फत गरिएको थियो ।

स्थानीय आयोजकका अनुसार कार्यक्रमले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको छ । मञ्चमा अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए ।

मलेसियामा सम्पन्न एकमात्र प्रस्तुति सकेपछि ब्यान्ड स्वदेश फर्किएको छ । प्रवासी नेपाली समुदायको उत्साहपूर्ण उपस्थितिले नेपथ्यको अन्तर्राष्ट्रिय सांगीतिक यात्रामा अर्को स्मरणीय अध्याय थपिएको आयोजकले जनाएको छ ।