पल–मलिकाको जोडीसहित ‘आ बाट आमा २’को छायांकन सुरु, दसैंमा प्रदर्शन गर्ने तयारी

पल–मलिकाको जोडीसहित ‘आ बाट आमा २’को छायांकन सुरु, दसैंमा प्रदर्शन गर्ने तयारी
पल–मलिकाको जोडीसहित ‘आ बाट आमा २’को छायांकन सुरु, दसैंमा प्रदर्शन गर्ने तयारी

काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को औपचारिक छायांकन आजबाट सुरु भएको छ । अभिनेता पल शाह र अभिनेत्री मलिका महतको जोडीलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै निर्माण टिम सोमबारदेखि फ्लोरमा उत्रिएको हो ।

आइतबार मात्रै मुख्य अभिनेत्रीका रूपमा मलिका महत अनुबन्धित भएको घोषणा गरेको निर्माण पक्षले कास्टिङ लाइनअप पूरा भएसँगै जेठ १८ गतेबाट फिल्मको सुटिङ सुरु गरेको जनाएको छ । फिल्मको छायांकन चित्लाङ, काठमाडौं र बेलायतको लन्डनमा गरिनेछ ।

दर्शकमाझ लोकप्रिय बनेको पल–मलिका जोडीलाई पुनः ठूलो पर्दामा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण पक्षले मलिकासँग अन्तिम सम्झौता गरेको हो । म्युजिक भिडियोमार्फत चर्चित बनेको यो जोडीको फिल्मी केमेस्ट्री कस्तो रहनेछ भन्ने विषयमा अहिले नै दर्शकमाझ उत्सुकता देखिएको छ ।

निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण भइरहेको फिल्ममा मलिका महतसँगै रिश्ता गुरुङ र निकिता आचार्यको पनि मुख्य भूमिका रहनेछ । गत वर्ष सफल व्यापार गरेको ‘आ बाट आमा’को सिक्वेलका रूपमा निर्माण भइरहेको यो फिल्म आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा तयार हुँदैछ ।

फिल्मले छायांकनअघि नै अन्तर्राष्ट्रिय तथा स्वदेशी वितरणका महत्वपूर्ण सम्झौता गरिसकेको छ । अमेरिका र क्यानडाको प्रदर्शन अधिकार डोको फिल्म्सलाई तथा नेपाल वितरण अधिकार आरआर फिल्म्सलाई प्रदान गरिएको छ । यस्तै, डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको निर्माण पक्षले जनाएको छ । व्यापारिक रूपमा बलियो सुरुवात गरेको ‘आ बाट आमा २’लाई आगामी दसैंको अवसर पारेर असोज ३० गते देशव्यापी प्रदर्शन गर्ने तयारी गरिएको छ ।